अब सगरमाथा चढ्ने विदेशी आरोहीले १५ हजार डलरसम्म तिर्नुपर्ने

कुन याममा कति शुल्क तिर्नुपर्छ ?

भाद्र १७, २०८२

संगम प्रसाई

Now foreign climbers who want to climb Mount Everest have to pay up to 15,000 dollars

What you should know

काठमाडौँ — नेपालले सगरमाथा र अन्य हिमाल आरोहणका लागि नयाँ अनुमति शुल्क सोमबारदेखि लागू गरेको छ । सरकारले गत मंसिरमा स्वीकृत गरेको पर्वतारोहण सम्बन्धी (छैटौं संशोधन) नियमावली २०८१ मा शुल्कको नयाँ व्यवस्था गरेको हो ।

त्यही नियमावलीबमोजिम गत पुस २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले हिमाल आरोहणसम्बन्धी शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयले वृद्धिगरेको शुल्क सोमबारदेखि लागू गरिएको हो ।  एक दशकपछि शुल्क वृद्धि गरिएको यो पहिलो पटक हो । अन्तिम पटक सन् २०१५ को जनवरी १ मा शुल्क परिमार्जन गरिएको थियो ।

पर्यटन विभागका निर्देशक हिमाल गौतमले वसन्त ऋतु (मार्च–मे) मा सगरमाथाको आरोहण गर्ने विदेशी आरोहीका लागि प्रतिव्यक्ति ११ हजार डलरबाट १५ हजार डलर पुगेको बताए । उनले भने -‘यो सोमबारदेखि, शरद ऋतुको सुरुवातसँगै आधिकारिक रूपमा लागू भएको छ ।’

परिमार्जित नियम अनुसार, शरद ऋतु (सेप्टेम्बर–नोभेम्बर) को शुल्क ५५ सय डलरबाट ७५ सय डलर पुगेको छ । जाडो (डिसेम्बर–फेब्रुअरी) र वर्षा (जुन–अगस्ट) यामको अनुमति शुल्क २७ सय ५० डलरबाट ३७ सय ५० डलर प्रतिआरोही पुगेको छ ।

त्यस्तै नेपाली आरोहीका लागि सामान्य मार्गबाट वसन्त ऋतुमा सगरमाथा आरोहणको शुल्क ७५ हजार नेपाली रुपैयाँबाट बढेर १ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

अन्य हिमालको शुल्क कति ?

सगरमाथासँगै अन्य हिमालहरूको शुल्कमा पनि वृद्धि भएको छ । ८ हजार मिटरभन्दा माथिका हिमालका लागि वसन्त ऋतुको शुल्क १८ सय डलरबाट बढेर ३ हजार डलर पुगेको छ । 

शरद ऋतुमा यो शुल्क ९ सय डलरबाट १५ सय डलर र जाडो तथा वर्षा याममा ४ सय ५० डलरबाट ७ सय ५० डलर पुगेको छ । गौतमले नयाँ दरमा शरद ऋतुको आरोहण अनुमति जारी गर्न विभागले सुरु गरिसकेको बताए ।

संशोधित पर्वतारोहण नियमावलीले गाइड अनिवार्य गरेको छ । सगरमाथा वा ८ हजार मिटरभन्दा माथिको कुनै पनि हिमाल आरोहण गर्ने प्रत्येक दुई आरोहीले एक गाइड अनिवार्य  राख्नुपर्नेछ । ८ हजार मिटरभन्दा तलका हिमालका लागि प्रत्येक १५ आरोहीका लागि एक गाइड अनिवार्य गरेको छ । 

संगम प्रसाई काठमाडौं पोस्टका संवाददाता हुन् । उनी उड्डयन, पर्यटन, कृषि, पूर्वाधार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully