किरण साहलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप

संघीय खानेपानी मन्त्री प्रदीप यादवलाई ‘धम्की’ दिएको आरोपमा कलैयाकी साहलाई हिरासतमा राखी अनुसन्धानका लागि प्रहरीले पहिलो पटक आइतबार पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति पाएको थियो ।

भाद्र १७, २०८२

शंकर आचार्य

Kiran Sah remanded for three days for investigation

What you should know

पर्सा — संघीय खानेपानी मन्त्री प्रदीप यादवलाई 'ज्यान मार्ने धम्की दिएको' आरोपमा पक्राउ परेकी बारा कलैयाकी किरण साहलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले म्याद थप गरेको छ ।

साहलाई हिरासतमा राखी अनुसन्धानका लागि पहिलो पटक आइतबार पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति पाएको प्रहरीले मंगलबार थप तीन दिनको म्याद अनुमति पाएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिएका छन् । घटनाबारे अझै पनि अनुसन्धान चलिरहेको उनले बताए ।

मन्त्री यादवका स्वकीय अधिकृत हरेन्द्र साहको जाहेरीका आधारमा पर्सा प्रहरीले साहलाई शनिबार पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको हो । उनी उपर साइबर अपराध, संघीय सांसदलाई ज्यान मार्ने धम्की दिएको र अफवाह फैलाएको आरोप लागेको छ ।

किरणको समर्थनमा पूर्व सांसद एवम् पूर्वमन्त्री करिमा बेगम नेतृत्वमा महिलाहरूको समूहले सोमबार जिल्ला प्रहरी कार्यालय परिसर बाहिर प्रदर्शन गर्दै उनको अविलम्ब रिहाइको माग गरेका थिए ।  

यता मंगलबार जनता समाजवादी पार्टी जसपा निकट महिलाहरूले साहलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साको मूल प्रवेशद्वारमा उनीहरूले 'खानेपानीमा राजनीति गर्न पाइँदैन, मन्त्रीलाई धम्की दिने किरण साहलाई कारबाही गर' जस्ता नारा लगाएका थिए ।  

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully