शरद्‌कालीन आरोहणमा ४५ देशका दुई सयभन्दा बढी आरोही नेपालमा

यस सिजनमा सबैभन्दा लोकप्रिय हिमाल मनास्लु रहेको छ । मनास्लुमा मात्र १२ वटा आरोहण दलका १ सय ६२ जना आरोहीले अनुमति लिएका छन् ।

भाद्र १७, २०८२

कान्तिपुर संवाददाता

More than 200 climbers from 45 countries are in Nepal for autumn climbing

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले शरद्‌कालीन पर्वतारोहण सिजनमा ७ करोड ६ लाख रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ ।

विभागका अनुसार यस अवधिमा नेपालसहित ४५ देशका २ सय ४ पर्वतारोहीहरूले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन् । यसपटक २१ वटा आरोहण दलका ४३ महिला र १ सय ६१ पुरुषगरी २ सय ४ जना हिमाल आरोहणमा गएका थिए । 

विभागका अधिकृत सर्मिला बञ्जाडेका अनुसार, यस सिजनमा सबैभन्दा बढी लोकप्रिय हिमाल मनास्लु रहेको छ । यस हिमालमा मात्र १२ वटा आरोहण दलका १ सय ६२ जना आरोहीले अनुमति लिएका छन् । जसबाट करिब ६ करोड ८१ लाख रुपैयाँ बराबरको रोयल्टी संकलन भएको छ ।

अन्य उल्लेखनीय आरोहणमा सगरमाथामा एक जना, लोहत्सेमा दुई जना र नुप्त्सेमा ११ जना आरोही सहभागी छन् । 

त्यस्तै, हिमलुङ, ख्याङ, छुमापिक, ल्हायुल, अपी र कूम्भकर्णमा पनि सीमित आरोही पुगेका छन् । यसपटक सबैभन्दा धेरै आरोहीहरु चीनबाट ३४, पोल्यान्डबाट २५, नेपालबाट २२, अमेरिकाबाट १३, फ्रान्सबाट १० गरी ४५ वटा देशका सहभागी थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully