जयरुद्र झाले भनेअनुसार काठमाडौंका कुनै पनि ठाउँमा बम राखिएको थिएन । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको परीक्षा दिन निस्किएका झा स्वयंले यो झूटो सूचना दिएका रहेछन् ।
What you should know
काठमाडौँ — शुक्रबार बिहान काठमाडौं प्रहरी परिसरमा यस्तै एउटा फोन आयो । महोत्तरीका ३५ वर्षीय जयरुद्र झाले राजधानीका तीन ठाउँमा बम राखिएको र दिउँसो चार बजेसम्म विस्फोट हुन सक्ने सूचना दिए । उक्त सूचनाको स्रोत पत्ता लगाउन प्रहरीलाई केही समय मात्र लागेको थियो ।
झाले भनेअनुसार काठमाडौंका कुनै पनि ठाउँमा बम राखिएको थिएन । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको परीक्षा दिन निस्किएका युवा झा स्वयं यो झूटो सूचना दिएका रहेछन् ।
आखिर किन झुटो खबर ?
३/४ दिनदेखि राम्रोसँग नसुतेर पढेकाले आफू तनावमा रहेको झा बताउँछन् । शुक्रबार बिहान उनी जनमैत्री क्याम्पसमा ‘स्टाटिस्टिक्स’ को परीक्षा दिन जाँदै थिए । बाटोमा हिँड्दा फोन निकाले र एक्कासि प्रहरीको आपत्कालीन नम्बर १०० मा डायल गरे । उनले प्रहरीको बयानमा भनेका छन्,‘मैले यो सब किन गरेँ भन्ने कुरा मलाई नै थाहा छैन तर गरेको भने हुँ।’ आफूले प्रहरीलाई फोन गरेर मोबाइल अफ गरी परीक्षा केन्द्रमा बसेको र परीक्षा सकेर बाहिरिँदा आफूले गल्ती गरेको महसुस गरेर पुनः प्रहरीलाई फोन गरेर त्यो विषय झुटो भएको बताएका हुन् ।
यसबीचमा प्रहरी उनको कोठादेखि आफन्तसम्म खोजी गरिसकेको थियो । आफूले ८५ अंकको प्रश्नको हल गरेको झा बताउँछन् । ‘म कक्षा ९ सम्म विद्यालयमा सधैं प्रथम हुन्थेँ । एसएलसीमा भने अपेक्षित नतिजा आएन । त्यसपछि आर्ट्स विषय रोजे । सन् २०१७ मा त्रिविको सेन्टर डिपार्टमेन्टमा भर्ना भए पनि अध्ययनप्रति मेरो पढाइमा चासो रहेन । कोभिडपछि त झन् मास्टर तहको पढाइ सुस्तायो,’ उनले प्रहरीको बयानमा भनेका छन्,‘बरु लोक सेवा आयोगतर्फ ध्यान दिए । अधिकृतदेखि नायब सुब्बा स्तरका परीक्षा दिएँ । अहिले निजी क्षेत्रमा ४० हजार रुपैयाँ मासिक आम्दानी गर्ने जागिरमा लागेको छु ।’
उनले प्रहरीलाई आफू मानसिक स्वास्थ्य समस्यामा रहेको पनि बताएका छन् । केही समय उपचार गराए पनि पछिल्लो चरण औषधि सेवन नगरेकोले आफूले त्यस्तो निर्णय लिएको हुन सक्ने उनले बयानमा भनेका छन् । उनले आफ्नै कारणले गल्ती भएको बताउँदै कानुनी सजायको भागिदार बन्न तयार भएको बताएका छन् । प्रहरीले उनको झुटो सूचनाले सार्वजनिक शान्ति र सुरक्षामा खलल पुगेकाले मुलुकी अपराध संहिताअनुसार अभद्र मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।
