काठमाडौंमा पहिलो चरण लागू गर्दै, मंसिर १ देखि देशभरका तारे होटल र अन्य सेवामा अनिवार्य
What you should know
काठमाडौँ — अध्यागमन विभागले आगामी असोज १ गतेदेखि विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागू गर्ने भएको छ । नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विभागले यो प्रणाली विकास गरेको हो ।
प्रणालीलाई दुई चरणमा लागू गर्ने तयारी भएको विभागले जनाएको छ । पहिलो चरणमा २०८२ असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलमा अनिवार्य रूपमा लागू हुनेछ । दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, टुर एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्ज लगायत अन्य सेवाप्रदायक संस्थामा लागू हुनेछ ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार नेपाल भित्र प्रवेश गर्ने विदेशी नागरिकको सूचना राज्यको अभिलेखमा राख्न यो प्रणाली लागू गर्न लागिएको हो । उनले भने, 'हाम्रो सीमाभित्र जुनसुकै प्रयोजनका लागि विदेशी नागरिक आउँछन्, उनीहरूको गतिविधि राज्यको सूचनामा हुनु आवश्यक छ ।'
उनका अनुसार दुई कारणले विदेशी नागरिक राज्यको निगरानीमा रहनुपर्छ; पहिलो- विदेशी नागरिक तथा पर्यटकहरूको सुरक्षा र आवश्यक परेको बेलामा राज्यले दिने सुविधा तथा उद्धारको सहजता; दोस्रो- नेपालमा भिसा विपरीत वा प्रचलित कानून, सामाजिक मूल्य, राजनीतिक वा आर्थिक चाखविपरीत गतिविधि भए तुरुन्तै पहिचान गर्न सहजता ।
महानिर्देशक तिवारीले प्रणालीले पर्यटकहरूको गतिविधिको केवल निगरानी गर्ने र सेवा प्रवाह गर्ने संस्थाहरूलाई मात्र समावेश गर्ने बताए । उदाहरणका लागि होटलहरूले चेक–इन र चेक–आउटको मात्र सूचना प्रणालीमा प्रविष्ट गर्नेछन् । उनले भने, 'पर्यटकले के खाए वा कहिले सुत्छन् भन्ने राज्यले खोज्ने विषय होइन ।'
उनका अनुसार, सेवा प्रदायक संस्थाले प्रत्यक्ष रूपमा विभागको प्रणालीमा सूचना राख्नुपर्ने वा एपीआईमार्फत आफ्नै प्रणालीसँग जडान गरेर सूचना पठाउन सक्ने व्यवस्था मिलाइएको छ ।
विभागले यस प्रणालीले पर्यटक नफर्केसम्म आवश्यक परेको बेला उनीहरू कहाँ छन् भन्ने जानकारी राज्यलाई दिने बताएको छ । व्यक्तिगत डेटा दुरुपयोग हुने आशंका अस्वीकार गर्दै उनले भने, 'भिसा दिने बेलामा नै सबै विवरण विभागसँग हुन्छ । अहिले थपिएको भनेको केवल उनीहरूको आवतजावतको रेकर्ड मात्र हो ।'
यसका लागि साइबर सुरक्षाको दृष्टिले छुट्टै रोबर्ट प्रणाली बनाइएको पनि विभागले जनाएको छ ।
विभागले विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक र निजी संस्थालाई यस प्रणालीमा अनिवार्य रूपमा आवद्ध हुन आग्रह गरेको छ । अन्तर्राष्ट्रिय प्रतिष्ठा, राष्ट्रिय आत्मसम्मानको अभिवृद्धि र पर्यटन प्रवद्र्धनका लागि मुलुकभित्र हुने सम्पूर्ण आवागमन र गतिविधि राज्यको जानकारीमा राख्ने उद्देश्यले प्रणाली लागू गर्न लागिएको विभागले जनाएको छ । यसका लागि ७७ वटै जिल्लाका अनुगमन समितिलाई पत्राचार गरिसकिएको र जिल्ला प्रशासन कार्यालयमार्फत नियमित अनुगमन गरिने पनि विभागले जानकारी दिएको छ ।
