लुम्बिनी र गण्डकी प्रदेशबीच साझा विकासका लागि नौ बुँदे निर्णय

सिकाई आदान–प्रदानका लागि दुई प्रदेशबीच प्रमुख सचिवस्तरीय संयन्त्र गठन गर्ने, दुवै प्रदेशका धार्मिक पर्यटकीयस्थल जोड्ने पदमार्ग तयार गर्ने

भाद्र १६, २०८२

घनश्याम गौतम

Nine point decision for common development between Lumbini and Gandaki provinces

What you should know

बुटवल — लुम्बिनी र गण्डकी प्रदेश सरकारले एक अर्काबीच सहयोग र सहकार्यका आधारमा विकास निर्माणसँग सम्बन्धित साझा कार्यक्रमलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन नौ बुँदे निर्णय गरेका छन् ।

सोमबार गण्डकी प्रदेशको समन्वयमा स्याङ्जा गल्याङमा भएको मुख्यमन्त्रीस्तरीय दोस्रो बैठकले साझा सहमति र निर्णय गरेका हुन् । यस अघि लुम्बिनी प्रदेशको समन्वयमा पाल्पाको रानीमहलमा बैठक बसेको थियो ।

बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले साझा विकाससँग सम्बन्धित नौ बुँदे निर्णयमा हस्ताक्षर गरेका हुन् । सीमा जोडिएका यी दुई प्रदेशबीच यसअघि २०८१ माघ ३० गते पाल्पाको रानीमहलमा सम्पन्न मुख्यमन्त्रीस्तरीय बैठकमा साझा हित र चासोका विषयमा सहकार्य गर्ने प्रतिबद्धतासहित २१ बुँदे निर्णय गरेका थिए । सोमबारको बैठकमा रानीमहलमा भएको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्था, सुधार गर्नुपर्ने पक्षलगायत विविध विषयमा समीक्षा भएको लुम्बिनीका मुख्यमन्त्री आचार्यले बताए । 

Nine point decision for common development between Lumbini and Gandaki provinces

बैठकमा बजेट तथा नीतिगत प्राथमिकतामा रहेका विषयलाई कार्यान्वयनमा जोड दिने र नेपाल सरकारसँग नियमित समन्वय गर्न व्यवस्था मिलाइने र प्रतिबद्धता गरिए अनुसार तीन महिना भित्र कार्ययोजना तयार गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । निर्णय कार्यान्वयनका लागि दुवै प्रदेशका मुख्यमन्त्रीले संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएको र अहिले केही निर्णय कार्यान्वयन चरणमा रहेको मुख्यमन्त्री आचार्यले बताए । ‘संविधानले प्रदेशलाई प्रदान गरेका अधिकारहरू संघीय सरकारमार्फत प्रत्यायोजित नभएको अवस्था छ । संविधानले दिएको अधिकारलाई ‘फूलफ्लेज’मा कार्यान्वयन गराउनका लागि हामी सधैँ समन्वय र सहकार्य गरी अघि बढ्ने छौं,’ उनले भने, ‘प्रदेशसँग जोडिएका साझा सडकको पूर्वाधारको समस्या समाधान गर्न ध्यानाकर्षण गराउने काम भइरहेको छ ।’

Nine point decision for common development between Lumbini and Gandaki provinces

बैठकमा नेपालको संविधानको धारा, २३२ र २३३ मा रहेको समन्वय र सहकार्यको मर्मलाई आधार बनाई दुवै प्रदेशले साझा हितका कार्यक्रम संयुक्तरुपमा अघि बढाउने सहमति पनि भएको छ । त्यस्तै दामोदरकुण्ड–कृष्णगण्डकी ‘उत्तरवाहिनी’–लुम्बिनी मुक्तिमार्ग विकासका लागि अवधारणापत्र तयार गर्ने सहमति भएको छ । रुपान्तरणकारी कार्यक्रमहरूलाई अन्तरप्रदेश साझेदारीमा अघि बढाउने, कालीगण्डकी तटीय क्षेत्रको समुन्नतिको कार्ययोजना आगामी पुस मसान्तभित्र पेस गर्ने, कात्तिक महिनामा उत्तरवाहिनी क्षेत्रमा हुने कात्तिक महास्नान तथा दामोदर धर्मोत्सवलाई भव्य बनाउन दुवै प्रदेशले सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले सिकाइ आदान–प्रदानका लागि प्रमुख सचिवस्तरीय संयन्त्र गठन गर्ने, कानुनी तथा नीतिगत एकरुपता कायम गर्दै जाने र दुवै प्रदेशका तीर्थ तथा पर्यटकीय स्थललाई जोड्ने पदमार्गको विस्तृत आयोजना प्रतिवेदन संयुक्त रूपमा तयार गर्ने निर्णय पनि गरेको छ ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully