तियानजिनबाट रुस–भारत र चीनले दियो ‘ग्लोबल अर्डर’ बदलिने सन्देश

भूराजनीतिक विश्लेषकहरूले त तीन नेताको भेटलाई ‘ग्लोबल अर्डर’ (विश्व व्यवस्था) मा बन्दै गरेको नयाँ समीकरणका रूपमा अर्थ्याएका छन् । अमेरिकी दबाबका बाबजुद रुससँग व्यापार बढाउने सम्झौता गरेको भारतको चीनसँगको सम्बन्ध सुधारोन्मुख रहेको भन्ने सन्देश पनि प्रवाह भएको उनीहरुको दाबी छ ।

भाद्र १६, २०८२

राजेश मिश्र

From Tianjin, Russia-India and China gave the message of changing the 'global order'

What you should know

काठमाडौँ — चीनको तियानजिन सहरमा सांघाई शिखर सम्मेलन (एससीओ) का क्रममा सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एउटै फोटो फ्रेममा देखिए । उनीहरूको ‘बडिल्याङ्ग्वेज’ ले उक्त भेट अनौपचारिकसँगै सौहार्द र हार्दिक देखिन्छ । दुई शक्तिशाली कम्युनिस्ट नेतासँग लोकतान्त्रिक मुलुक भारतका प्रधानमन्त्री उभिएको त्यही तस्बिरले यति बेला सारा विश्वको ध्यान तानेको छ । भूराजनीतिक विश्लेषकहरूले त तीन नेताको भेटलाई ‘ग्लोबल अर्डर’ (विश्व व्यवस्था) मा बन्दै गरेको नयाँ समीकरणका रूपमा अर्थ्याएका छन् ।

विश्व व्यवस्थामा कायम रहेको पश्चिमा वर्चस्वमा बदलाबको सन्देश : धनञ्जय त्रिपाठी, एसोसिएट प्रोफेसर, दक्षिण एसियाली विश्वविद्यालययति बेला विश्व शक्ति अमेरिकासँग रुस र चीनको सम्बन्ध सहज छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ट्यारिफ वार’ को मारमा पछिल्लो समय भारत पनि परेको छ । त्यसले भारत र अमेरिकाको सम्बन्धलाई चिसो बनाएको छ । रुसमाथिको अनेक थरी प्रतिबन्ध, चीनसँगको प्रतिस्पर्धी व्यवहार र भारतमाथि ‘ट्याक्स वार’ को नीतिका कारण अमेरिकासँग तीन वटै देश कुनै न कुनै रूपमा प्रताडित छन् । त्यस परिस्थितिमा सी, पुटिन र मोदीको हाँसो तथा हार्दिकतासहितको फोटोलाई ‘ग्लोबल पोलिटिक्स’ मा आइरहेको बदलाबको प्रतिविम्बका रूपमा पनि हेरिएको छ ।

From Tianjin, Russia-India and China gave the message of changing the 'global order'भूराजनीतिक मामिलाका जानकारहरूका अनुसार तियानजिनमा भएको सी, पुटिन र मोदीबीचको ‘सौहार्द’ भेटले विश्व व्यवस्थामा नयाँ सन्तुलन बन्ने क्रममा रहेको स्पष्ट सन्देश दिएको छ । दिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालयका अन्तर्राष्ट्रिय मामिलाका एसोसिएट प्राध्यापक धनञ्जय त्रिपाठी तियानजिनमा मोदी, सी र पुटिनको भेटघाटले ‘ग्लोबल साउथ’ नजिक आइरहेको आधारभूत सन्देश दिएको बताउँछन् । ‘अन्तर्राष्ट्रिय राजनीतिमा पश्चिमाको वर्चस्व कायम छ । भारत, चीन र रसिया एक ठाउँमा आउन खोज्नु विश्व राजनीतिमा महत्त्वपूर्ण बदलाबको सन्देश हो,’ उनले भने, ‘यसले विश्व राजनीतिमा बदलाबको संकेत दिएको छ ।’

चीनलाई सन्तुलनमा राखिराख्न अमेरिकाले भारतलाई आफ्नो कित्तामा राखिरहने रणनीति लिँदै आएको थियो । तर ट्रम्पले भारतमाथि ५० प्रतिशतको अतिरिक्त करको भार थपेपछि झस्किएको भारत रुस र चीनसँग नजिक हुने रणनीति लिएको छ । रक्षा क्षेत्रमा हतियार तथा सैन्य सामग्री भारतको रुसमाथि ठूलो निर्भरता छ ।

तर रुस–युक्रेन युद्धपछि अमेरिकासहित पश्चिमा देशहरूको बढ्दो दबाबपछि भारतले रुसमाथिको सैन्य निर्भरता घटाउँदै जाने रणनीति लिएको थियो । अमेरिकासँग सैन्य साझेदारी बढाउँदै लगेको थियो । तर ट्रम्पले अमेरिकी लगानीकर्तालाई भारत छोड्न तथा भारतलाई रुससँग कच्चा तेल खरिद गरेकामा दण्डित गरिनेजस्ता उद्घोषले अमेरिकामाथिको भारतको भरोसालाई नराम्ररी खलबल्याइदिएको छ । अमेरिकाले भारतमाथि सुरुमा २५ प्रतिशत र पछि २५ प्रतिशत थप थपेर ट्यारिफ ५० प्रतिशत पुर्‍याएको छ । भूराजनीतिक मामिलाका जानकारहरूका अनुसार युक्रेनसँगको युद्धलाई रुसले नरोकेको भन्दै अमेरिकाले रुसबाट तेल खरिद नगर्न दबाब बढाउन त्यसो गरेको हो । तर भारतले अमेरिकी व्यवहारलाई गलत भन्दै भारतीय नागरिकलाई सुविधा दिन जहाँबाट सस्तो तेल पाइन्छ, त्यहीँबाट किन्ने जवाफ दिएको छ ।

अमेरिकी दबाबका अगाडि झुक्न नचाहेको देखाउन पनि भारतीय प्रधानमन्त्री मोदीले चिनियाँ सहर तियानजिनमा पुटिनसँगको निकटतालाई प्रदर्शन गरेको विश्लेषण गरिएको छ । मोदीले पुटिनसँग एउटै गाडीमा यात्रा गरेको तस्बिर सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरेर त्यसलाई केही हदसम्म पुष्टि गरेका छन् । ‘एससीओ शिखर सम्मेलनपछि राष्ट्रपति पुटिन र म सँगै हाम्रो द्विपक्षीय बैठक स्थलमा गयौं,’ मोदीले लेखेका छन्, ‘उहाँ (पुटिन) सँगको कुराकानी सधैं गहन हुन्छ ।’

मोदी र पुटिनबीच द्विपक्षीय व्यापारलाई थप बढाउने सहमतिसमेत भएको छ । ‘व्यापार, मल, अन्तरिक्ष, सुरक्षा र संस्कृतिसहित सबै क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई अझ गहिरो बनाउने तरिकाहरूमा छलफल गर्‍यौं,’ पुटिनसँगको वार्तापछि मोदीले एक्समा लेखेका छन्, ‘हाम्रो विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी क्षेत्रीय र विश्वव्यापी स्थिरताको एक महत्त्वपूर्ण स्तम्भ बनेको छ ।’

युक्रेन युद्धको शान्तिपूर्ण समाधानसहित क्षेत्रीय र विश्वव्यापी विकासहरूमा दुई नेताबीच विचार आदानप्रदान भएको मोदीले पनि लेखेका छन् । भारतीय विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा नेताहरूले आर्थिक, वित्तीय र ऊर्जा क्षेत्रहरूसहित द्विपक्षीय सहयोग र सम्बन्धमा निरन्तर वृद्धि भएकामा दुवै नेताले सन्तुष्टि व्यक्त गरेको उल्लेख छ । अमेरिकी दबाबका बाबजुद रुससँगको सम्बन्ध तथा व्यापारलाई निरन्तरता दिने सन्देश प्रवाह गर्न भारत सफल भएको प्राध्यापक त्रिपाठीको भनाइ छ । ‘अमेरिकाले मनोमानी गरिरहँदा भारतले व्यापारका लागि अमेरिकाको वैकल्पिक बजार खोज्नु जरुरी छ । भारतको बाध्यता पनि हो,’ उनले भने, ‘भारतले रुस वा चीनमा त्यो बजार खोजिरहेको देखिन्छ । तियानजिनबाट दिन खोजिएको प्रस्ट सन्देश यही हो ।’

मोदीको तियानजिन सहभागिता र सीसँगको भेटले भारत र चीनबीचको सम्बन्ध सुधारोन्मुख रहेको सन्देश पनि प्रवाह भएको छ । दुई देशबीच पटक–पटक सीमालाई लिएर विवाद हुँदै आएको छ । सन् २०२० को जुनमा भारत र चीनबीच पूर्वी लद्दाखको गलवानमा सैन्य झडपपछि दुवै मुलुकबीचको सम्बन्ध थप चिसिएको थियो । गलवान घटनाका कारण दुई देशको सम्बन्ध १९६२ को युद्ध भएयताकै सबैभन्दा खराब स्थितिमा पुगेको विश्लेषकहरूको भनाइ छ ।

सम्बन्धमा आएको चिसोपनकै कारण भारतका प्रधानमन्त्री मोदीले ७ वर्षपछि चीनको यात्रा गरेका छन् । जबकि दुई वर्ष अगाडि दिल्लीमा भएको जी २० को शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति आएका थिएनन् । गलवान झडपपछि सी र मोदीबीच गत वर्ष रुसको कजान सहरमा भएको ब्रिक्स सम्मेलनमा भेट भएको थियो । रुसको भूमिमा भएको त्यही भेटबाट भारत र चीन सम्बन्ध सुधारतर्फ अग्रसर भएको विश्लेषकहरूको दाबी छ । द्विपक्षीय भेटमा मोदी र सीबीच आफूहरू प्रतिद्वन्द्वी नभई विकासको साझेदार रहेको र आगामी दिनमा मतभेदहरू विवादमा परिणत नगर्न पनि सहमति बनेको छ । विश्वव्यापी मुद्दा तथा चुनौतीहरूमा साझा धारणाको आवश्यकता औंल्याउँदै बेइजिङ–दिल्ली तथा चीन र भारतका विभिन्न सहरबीच सिधा उडान गर्ने समझदारी पनि बनेको छ ।

सी, पुटिन र मोदीको भेट ‘एसियाको युग’ सुरु भएको सन्देश दिने प्रयास : मृगेन्द्रबहादुर कार्की, कार्यकारी निर्देशक, सिनास ‘दुई नेताहरूले बहुपक्षीय प्लेटफर्महरूमा आतंकवाद र निष्पक्ष व्यवहारजस्ता द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दा तथा चुनौतीहरूमा साझा आधार विस्तार गर्न आवश्यक ठानेका छन्,’ मोदी र सी भेटपछि भारतको विदेश मन्त्रालयद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘दुवै नेताहरूले कैलाश मानसरोवर यात्रा र पर्यटन भिसाको पुनः सुरुवात गर्दै प्रत्यक्ष उडान र भिसा सहजीकरणमार्फत जनता–जनता सम्बन्धलाई बलियो बनाउने आवश्यकतालाई जोड दिए ।’

From Tianjin, Russia-India and China gave the message of changing the 'global order'त्रिभुवन विश्वविद्यालयको सेन्टर फर नेपाल एन्ड एसियन स्टडिज (सिनास) का कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्की तियानजिन सम्मेलनले अबको युग ‘एसियाको युग’ भएको सन्देश दिने प्रयास गरेको बताउँछन् । ‘चिनियाँ राष्ट्रपति सी र भारतका प्रधानमन्त्री मोदीले धेरै पहिलेदेखि अब एसियाको युग भन्ने विषयलाई हाइलाइट गर्दै आएका हुन्,’ उनले भने, ‘अब विश्व राजनीतिमा पश्चिमाहरूको वर्चस्व मात्रै रहने छैन, एसिया अगाडि बढ्दै छ भन्ने स्पष्ट सन्देश सी, पुटिन र मोदीले दिन खोजेका छन् ।’ अब एसियाको युग भन्ने विषयलाई नेताहरू एससीओको मञ्चबाट भिजिवल गराउन सफल भएको उनले बताए ।

कार्कीका अनुसार अमेरिकाले आफ्नो परम्परागत ‘शत्रु’ चीनसँग भारतको निकटता कायम नहोस् भन्ने रणनीतिअनुसार उसलाई ‘क्वाड’ लगायतको मञ्चहरूमा साथ दिँदै आएको छ । तर, अहिले अमेरिकाले नै भारतलाई धकेलेर चीनको नजिक पुर्‍याएको कार्की टिप्पणी गर्छन् । ‘अमेरिकाले चाइनालाई सन्तुलनमा राख्न जापान, भारत र अस्ट्रेलियालाई प्रयोग गर्दै आएको हो,’ उनले भने, ‘ट्रम्प नीतिका कारण भारत चीनसँग नजिकिँदै छ । अहिलेको भारत–चीन निकटता अमेरिकाको रियाक्सनमा हो वा नेचुरल, त्यो हेर्नु महत्त्वपूर्ण हुन जान्छ । भविष्यमा त्यसैले धेरै कुरा निर्धारण गर्नेछ ।’

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully