एससीओको मञ्चबाट प्रधानमन्त्री ओलीले व्यक्त गरे पूर्ण सदस्य बन्ने चाहना

चीनको तियानजिन सहरमा सोमबार ‘एससीओ प्लस’ बैठकलाई सम्बोधन गर्दै उनले नेपालले एससीओको पूर्ण सदस्य बन्ने अपेक्षा राखेको बताएका हुन् ।

भाद्र १६, २०८२

कान्तिपुर संवाददाता

From the platform of SCO, Prime Minister Oli expressed his desire to become a full member

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सांघाई सहयोग संगठन(एससीओ)को पूर्ण सदस्य बन्न चाहेको बताएका छन् । चीनको तियानजिन सहरमा सोमबार ‘एससीओ प्लस’ बैठकलाई सम्बोधन गर्दै उनले नेपालले एससीओको पूर्ण सदस्य बन्ने अपेक्षा राखेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको द्विपक्षीय भेटमा पनि उक्त चाहना व्यक्त गर्दै त्यसका लागि सहयोगको आग्रह गरेका थिए ।

नेपाल एससीओको ‘डायलग पार्टनर’(संवाद साझेदार) देश हो । त्यही हैसियतमा ओलीले ‘एससीओ प्लस’ लाई सम्बोधन गर्दै उनले अब अझ एकीकृत, संगठित र सशक्त एससीओको आवश्यकतामा जोड दिए ।

जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू हिउँविनाको हुँदै गएको चर्चा गर्दै त्यसले तलतिरका अर्बौँ मानिसलाई प्रभावित बनाउँदै लगेको उनले उल्लेख गरे । आतंकवाद, साइबर आक्रमण, महामारी जस्ता संकटहरूले सीमा नमान्ने भएकाले हरेक परिस्थिति, भूरजानीति र आर्थिक चुनौतीको सामना गर्न सशक्त एससीओको आवश्यकतामा उनले जोड दिएका हुन् ।

क्षेत्रीय सहयोग र सहकार्यले नै साझा चुनौतीहरूको सामाना गर्न सकिने र त्यसका लागि नेपाल प्रतिवद्ध रहेको उनले उल्लेख गरे । अलगावबाट सम्पर्कतर्फ, टकरावबाट परामार्शतर्फ र प्रतिस्पर्धाबाट सहकार्यतर्फ मुख्य रूपमा यी तीनवटा बाटोमा विश्व बढ्नुपर्ने उनको भनाइ थियो ।

एससीओभित्रको क्षेत्रीय सहयोगप्रति नेपालको तर्फबाट प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले बहुपक्षीय मञ्चहरूले वाचा गर्ने तर कार्यान्वयनमा न लैजाने व्यवहारलाई त्याग्नुपर्ने उल्लेख गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully