सोलुखुम्बुको थामेमा फेरि बाढी : ५ घर बगायो, विद्युत् र सञ्चार अवरुद्ध

थामे खोलाको धार परिवर्तनले खुम्बुमा ५ घर बगाउँदा ६ घरमा आंशिक क्षति पुगेको छ, विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको छ।

भाद्र १६, २०८२

भानुभक्त निरौला

Flood again in Thame of Solukhumbu: 5 houses washed away, electricity and communication disrupted

सोलुखुम्बु — लगातारको वर्षापछि थामे खोलामा आएको बाढीले ५ वटा घर बगाएको छ । गए रातिदेखि निरन्तर आएको बाढीले थामे खोला गाउँ पस्दा घरहरू बगाएको हो ।

खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा थामे खोलाको बग्ने धार परिवर्तन भई बस्तीमा पसेको बाढीले ५ वटा घर पूर्ण रूपमा बगाएको छ भने अन्य ६ वटा घरमा आंशिक क्षति पुर्‍याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिए ।

बाढीका कारण पोलहरूमा क्षति पुगेकाले सो क्षेत्रको विद्युत् आपूर्ति र सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । घटनापछि तत्काल उद्धार तथा राहत कार्यमा स्थानीयवासी, सुरक्षा निकाय र सरोकारवाला निकायहरू परिचालित भएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए । 

अहिले पनि लगातार वर्षा भइरहेकाले थप क्षतिको सम्भावना कायमै रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत सुजनकुमार बुढाथोकीले बताएका छन् । 

स्थानीयहरूको घर बगाए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । गाउँपालिकाले थामे क्षेत्रका साथै सम्पूर्ण बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

गत वर्ष भदौमा पनि थामेमा आकस्मिक बाढी आउँदा २० भन्दा बढी घर बगाएको थियो । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलामा एक्कासि बाढी आएको थियो ।

भानुभक्त निरौला

Link copied successfully