पर्सामा हैजा : संक्रमणको स्रोत अझै पत्ता लागेन, गृहमन्त्री भन्छन् - विज्ञ टोली बोलाइन्छ

वीरगन्ज र पोखरिया क्षेत्रमा हैजाको संक्रमण बढ्दै, पानीको स्रोत अझै पत्ता लाग्न नसक्दा जनजीवन प्रभावित भएको छ।

भाद्र १६, २०८२

शंकर आचार्य

Cholera in Parsa: Source of infection still not identified, Home Minister says - expert team called

What you should know

पर्सा — गृहमन्त्री रमेश लेखकले वीरगन्जमा फैलिएको झाडापखालाको प्रकोपको स्रोत अझै यकिन भइनसकेको बताएका छन् । प्रेस युनियन पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विज्ञको टोली बोलाएर भए पनि हैजाको स्रोत पत्ता लगाइने दाबी गरे।

डेढ साताअघिदेखि वीरगन्जमा फैलिएको हैजाको स्रोतबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने अवस्था छ। सरकारीदेखि गैरसरकारी संयन्त्रहरूले लामो प्रयास गरे पनि वीरगन्जमा हैजाको वास्तविक स्रोत अझै यकिन हुन सकेको छैन।

सुरुमा अनुमान गरिएजस्तो विभिन्न प्रयोगशालाको नतिजाले वीरगन्ज महानगरको खानेपानी संस्थान र डीप बोरिङ दुवैको पानीमा हैजाको जीवाणु फेला परेको छैन। यस्तो अन्योलको अवस्थामा सर्वसाधारण पनि अन्योलग्रस्त र सशङ्कित बनेका छन्।

हैजा र झाडापखालाको रोकथाम गर्न सचेतना अभियानदेखि पानीको शुद्धतामा सरोकारवाला सबैले जोड दिँदै आए पनि वीरगन्ज महानगर र पोखरिया नगरपालिकामा हैजा संक्रमण घटनाको साटो दैनिक बढ्दो क्रममा छ।

वीरगन्ज महानगरपालिकाले सोमबार बिहान साढे ९ बजे सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार, वीरगन्ज क्षेत्रमा मात्रै हैजा संक्रमितको संख्या १ सय ७३ पुगेको छ। उता पोखरिया अस्पतालमा सम्पर्कमा आएकामध्ये पनि हैजा संक्रमितको संख्या १५ पुगेको छ। वीरगन्ज र पोखरिया मिलाएर जिल्लामा संक्रमितको संख्या १ सय ९० पुगेको छ।

वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाको पछिल्लो तथ्यांक अनुसार, सोमबार बिहानसम्म वीरगन्जस्थित विभिन्न अस्पतालमा जम्मा ८ सय ५८ झाडापखाला तथा हैजाका बिरामी सम्पर्कमा आएका छन्। तीमध्ये ४६ नयाँ बिरामी हुन्।

८ सय ५८ मध्ये ७ सय ५१ उपचारपछि घर फर्किसकेका छन्। ४१ हैजा संक्रमित अझै उपचाररत छन्। हाल पनि १ सय ७ जना झाडापखालाका बिरामी वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत छन्। तीमध्ये ८७ जनरल वार्डमा, ३ जना एचडीयूमा र १७ जना आइसीयूमा भर्ना भई उपचाररत छन्।

उता पोखरिया अस्पतालमा आइतबार साँझसम्म कुल ३१ झाडापखाला तथा हैजाका बिरामी उपचारका लागि भर्ना भएका मध्ये १७ जनामा हैजा संक्रमण पुष्टि भइसकेको अस्पतालका मेसु डा आनन्द रौनियारले जानकारी दिएका छन्। शनिबारदेखि आइतबारसम्म थप ३ नयाँ बिरामी उपचारका लागि आएका छन्। ती सबै हैजा संक्रमित नै हुन्। शनिबार आधा दर्जन बिरामी उपचारपछि डिस्चार्ज भई घर फर्केका छन्।

तथ्यांकले नयाँ बिरामी भर्ना हुने दर र उपचारपछि घर फर्किने दर समान देखिए पनि नयाँ बिरामी देखिने क्रम नरोकिनु चिन्ताको विषय बन्दै गएको छ। प्रकोप फैलिन नदिन भन्दै वीरगन्ज महानगरपालिकाले एक सातादेखि यहाँका सम्पूर्ण शिक्षण संस्था बन्द गराएको छ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully