उनले भारत र चीन जोड्ने छोटो नाका किमाथांकालाई चलायमान बनाउनुपर्ने बताए।
संखुवासभा — नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले सरकारी सेवाप्रवाह चुस्त दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्।
'जनतालाई ढिला नगरी सर्वसुलभ सेवा दिनुपर्छ, जनताले गुनासो गर्ने मौका दिनुहुँदैन,' उनको भनाइ छ। उनले सरकारी कार्यालयमा देखिने ढिलासुस्तीको प्रवृत्ति अन्त्य गर्न जोड दिए।
सोमबार संखुवासभामा आयोजित 'नागरिक सन्तुष्टि र सुशासन प्रवर्द्धनमा सार्वजनिक निकायको भूमिका” विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य सचिव अर्यालले कर्मचारीलाई सेवा ढिलाइ गरेर जनतालाई दुःख दिने काम तत्काल बन्द गर्न आग्रह गरे।
उनले भने, 'आफ्नो टेबलमा आइसकेको कामलाई भोली, पर्सी भनेर नअलमलाउनु हुँदैन।' उनले सार्वजनिक सेवाप्रवाह प्रभावकारी बनाउन कानुन निर्माणको प्रक्रिया अगाडि बढिरहेको उल्लेख गर्दै एकै प्रकृतिका कार्यालयहरूलाई गाभेर एकीकृत गर्ने तयारी भइरहेको जानकारी दिए।
उनले भारत र चीन जोड्ने छोटो नाका किमाथांकालाई चलायमान बनाउनुपर्ने बताए। अर्यालले प्रधानमन्त्रीको चीन भ्रमणमा समेत उत्तरी नाकाका विषयमा छलफल भएको स्मरण गर्दै योगमाया विश्वविद्यालयलाई सञ्चालन गरेर आयुर्वेद क्षेत्रमा नेपाललाई चिनाउन सकिने बताए।
प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले किमाथांका नाकालाई नेपाल, चीन र भारतलाई जोड्ने महत्त्वपूर्ण प्रवेशद्वारको रूपमा लिँदै यसको सम्भावनामा विश्वास व्यक्त गरे। 'यो नाका हिउँद र वर्षा दुवै मौसममा चलाउन सकिन्छ, त्यसैले यसको स्तरोन्नति जरुरी छ,' उनले भने।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जिल्लामा करिब १५ प्रतिशत जनताले मात्रै सुशासनको अनुभव गरिरहेको भन्दै कर्मचारीहरूले सेवा प्रवाहमा विशेष महत्त्व दिनुपर्ने सुझाव दिए।
