साझा घोषणापत्र जारी गर्दै नेपाल-इन्डिया क्रस बोर्डर मिडिया कन्क्लेभ सकियो

दुवै देशका पत्रकारका लागि संयुक्त सूचना केन्द्र स्थापनादेखि सीमा क्षेत्रका सम्बन्धमा प्रभावकारी रिपोर्टिङका लागि सूचना बैंक र सशक्त सूचना स्रोत संयन्त्रको विकास गर्ने घोषणा गरिएको छ ।

भाद्र १५, २०८२

शंकर आचार्य

The Nepal-India Cross Border Media Conclave concluded with the issuance of a joint declaration

What you should know

पर्सा — १६ बुँदे साझा घोषणापत्र जारी गर्दै नेपाल-इन्डिया क्रस बोर्डर कन्क्लेभ वीरगन्जमा शनिबार सम्पन्न भएको छ । घोषणापत्रमा दुवै देशका साझा मुद्दा खोजी गरेर सार्वजनिक गर्ने र ती मुद्दा दुवैतर्फका सरकार र सम्बन्धित निकायबाट सम्बोधन गराउन पहल गर्ने, गलत सूचना र दुष्प्रचारको समस्याबाट मिडियालाई जोगाएर तथ्यपूर्ण रिपोर्टिङका लागि सक्रिय हुने बुँदा समेटिएका छन् ।

व्यावसायिक पत्रकारिताका माध्यमले भुँइमान्छेका समस्यालाई सम्बोधन गराउन प्रयत्न गर्नुका साथै वैकल्पिक मिडिया, सामाजिक सञ्जाल र एआईको प्रयोगमा सचेत घोषणापत्रमा उल्लेख छ ।

त्यसैगरी, दुवै देशका नागरिकका वास्तविक समस्यालाई फिल्ड रिर्पोटिङमार्फत उजागार गर्ने, आवश्यकताअनुसार सीमावर्ती क्षेत्रका दुवै देशका पत्रकारले संयुक्त रिपोटिङका माध्यमबाट दुवै देशका नागरिकको हित रक्षाका लागि प्रयत्न गर्ने, ‘मिडिया फर बोर्डर हार्मोनीको सञ्जाल’का माध्यमबाट दुवै देशबीचको सम्बन्ध सुदृढीकरणका लागि प्रयत्न गर्ने घोषणापत्रमा भनिएको छ । दुवै देशको कुनै पनि समाजमा द्वन्द्व वा वैमनश्य उत्पन्न हुन सक्ने खालका रिर्पोटिङबाट जोगिने, एक अर्काको देशमा संयुक्त रुपमा समय समयमा भ्रमण गरेर समाचारजन्य विषयका सन्दर्भमा त्यहाँका ऐतिहासिक, सांस्कृतिक गतिविधि बुझ्ने र प्रवर्धनमा भूमिका निर्वाह गर्ने घोषणापत्रमा उल्लेख छ ।

दुवै देशका पत्रकारका लागि संयुक्त सूचना केन्द्र स्थापना गर्ने साथै दुवै देशका पत्रकारका लागि साझा हेल्प लाइन नम्बर राख्ने, सामुदायिक सञ्चार संस्स्थानलाई अझ सबल बनाउन प्रयत्न गर्ने, दुवै देशका सीमाक्षेत्रमा कार्यरत पत्रकारको सीप दक्षता अभिवृद्धिका लागि समय समयमा तालिम, गोष्ठी र कार्यशाला आयोजना गर्ने घोषणापत्रमा जनाइएको छ । सीमा क्षेत्रमा कार्यरत पत्रकारको सुरक्षाका सन्दर्भमा दुवै देशका सरकारलाई संवेदनशील हुन आग्रह गर्ने, सीमा क्षेत्रका सम्बन्धमा प्रभावकारी रिपोर्टिङका लागि सूचना बैंक र सशक्त सूचना स्रोत संयन्त्रको विकास गर्ने, पत्रकारहरुको अध्ययन भ्रमणको व्यवस्था मिलाउन पहल गर्ने, विचार, अभिव्यक्ति तथा प्रेस सवतन्त्रताको संरक्षण र सम्वर्धनका लागि यस सञ्जालका माध्यमबाट पहल गर्ने घोषणापत्रमा उल्लेख छ ।

समापन समारोहलाई सम्बोधन गर्दै संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले नेपाल र भारतका पत्रकारले दुवै देशका साझा समस्या उजागर गर्न कलम चलाउनुपर्ने बताए । उनले दुवै देशको सीमामा रहेका आम जनताका समस्या काठमाडौं र दिल्लीबाट हेर्ने नजरिया फरक हुन सक्ने भएकाले सीमामा बस्ने पत्रकारले सीमाका समस्या उठाउन सक्दो सक्रिय हुनुपर्नेमा जोड दिए ।

सम्मेलनमा नेपाल र भारतका गरी ८० भन्दा बढी सञ्चारकर्मी सहभागी थिए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully