अहिले तालमा रैथाने चराको व्यस्तता छ । उनीहरूलाई बचेरा हुर्काउन भ्याइनभ्याइ छ । ३/४ साताका बचेरालाई अघिपछि गर्दै हिँडिरहेका छन् । प्रकृतिसँग मिलेर बाँच्न सिकाउँदै छन् । ती बचेरालाई सुरक्षा गर्दै हिँड्न सिकाइरहेका छन् ।
What you should know
कपिलवस्तु — मौसम प्रचण्ड गर्मी । अझ ताल छेउछाउ पुग्दा ह्वाप्प गर्मी बढ्छ । गर्मीले मानिस असिनपसिन हुन्छन् । कतिखेर हिँडौं फर्किउँ जस्तो हुन्छ । तर, पक्षी आरक्ष जगदीशपुर ताल छेउछाउ पुग्दा भने प्रकृति प्रेमी उखरमाउलो गर्मीमा पनि उत्तिकै रोमाञ्चित र आनन्दित बन्छन् । तालको पूर्वी उत्तरी कुनामा मनमोहक बगाले सिमकुखुराको चित्ताकर्षक बचेराका बथान देख्दा दुःख–पीडा सबै हराउँछ ।
त्यहीँ नजिकै दक्षिणतिर सुन्दर र आकर्षक पक्षी जलअप्सराको मनमोहक बचेराका अर्को झुण्ड देख्दा मन चंगा हुन्छ । तालकै उत्तरी कुनामा नेपालकै संकटापन्न पक्षी हरिहाँसका सुन्दर बचेरा देख्दा आनन्दित बन्छन् ।
अहिले तालमा रैथाने चराको व्यस्तता छ । उनीहरूलाई बचेरा हुर्काउन भ्याइनभ्याइ छ । ३/४ साताका बचेरालाई अघिपछि गर्दै हिँडिरहेका छन् । प्रकृतिसँग मिलेर बाँच्न सिकाउँदै छन् । ती बचेरालाई सुरक्षा गर्दै हिँड्न सिकाइरहेका छन् । चराले बचेरालाई आहार खोज्दै, ल्याउँदै, ख्वाउन सिकाउँदै हुर्काइरहेका छन् ।
तालमा सिलसिले हाँस, डुबुल्कीचरा, कुर्मा, लामऔँले, सिमकुखुरा र ध्यानी बकुल्लाले बचेरा हुर्काइरहेका छन् । त्यस्तै कोटेरो मुनिया, रातो मुनिया, वस्तु बकुल्ला र आसकोटे बकुल्लाको पनि उस्तै व्यस्तता छ । सानो जलेवा, कालो टाउके मुनिया तथा पहेलो, रातो र कालो जुनबकुल्लाले पनि बचेरा हुर्काइरहेका छन् । ‘उनीहरूको चिरबिराहट, कोकिलकण्ठे बोली र वात्सल्य प्रेम हेरेर सबै मन्त्रमुग्ध हुन्छन्,’ वरिष्ठ वाइल्डलाइफ फोटोपत्रकार ओम यादवले भने, ‘हामी फोटो खिच्दा त मनैदेखि गद्गद् हुन्छौं ।’
पक्षी आरक्ष जगदीशपुर तालका रैथाने चराले अहिले बचेरा हुर्काइरहेका छन् । उनीहरूको व्यस्तता र मनमोहक चहलपहलले सबैलाई आनन्दित बनाइरहेको छ । विश्व सीमसार क्षेत्रमा सूचीकृत ताल आफैंमा मनमोहक छ । त्यसमाथि माउले बचेरा हुर्काउन गरेको संघर्षले रोमाञ्चकता थप्दै सबै आल्हादित बनाइरहेको वाइल्डलाइफ फोटोपत्रकार यादवले बताए ।
तालमा अहिले ३० बढी प्रजातिका रैथाने चराले गुँड लगाएर, अण्डा पारेर बचेरा हुर्काइरहेको चराविद् डा. हेमसागर बरालले बताए । मुलुकभरिकै सीमसार क्षेत्रमध्ये अहिले जगदीशपुर तालमा सबैभन्दा धेरै प्रजातिका रैथाने चराले बचेरा हुर्काइरहेको उनले बताए । तालमा राम्रो सीमसार क्षेत्र प्रशस्त हुँदा सुरक्षित रोजाइको ठाउँ पाउने र आहार–विहार सहज हुँदा रैथाने चरा प्रजननका लागि यता आकर्षित भएका हुन् । असारमा ठाउँ खोज्छन् । झिँजाझिँजी, खरपात र घुरपात बटुलेर गुँड राख्छन् । तीनदेखि चार साता ओथारो बसेर बचेरा कोरल्छन् । दुईदेखि तीन महिनामा हुर्काएर असोजसम्म वयस्क बनाउँछन् ।
चराले तालमा सुरक्षित वातावरण र खानेलगायतका कुरा हेरेर गुँड लगाउने ठाउँ रोज्छन् । तालमा ३ सय ५० बढी रैथाने चराले गुँड लगाएर ओथारो बसेर बचेरा हुर्काइरहेका छन् । मुनिया प्रजातिका ३ वटा चराले यहाँ राम्रो आहार–विहार पाउँदा यही मौसममा दुई पटकसम्म अण्डा पारेर बचेरा हुर्काउने गरेको चराविद् डा. बरालले बताए ।
रैथाने चरा भनेको बाह्रैमास बस्ने चरालाई बुझाउँछन् । कतिपय चरा पहिलेदेखि रैथाने थिए । कतिपय पछि आएर रैथाने भए । गृष्म र हिउँदे आगन्तुक कतिपय चरा अल्मलिएर र आफू पहिले बसेको ठाउँ जस्तै राम्रो वातावरण पाएर जगदीशपुरमा बसेर रैथाने बनेका हुन्, चराबिद् कृष्णप्रसाद भूषालले बताए । लामो ठुडे ट्याकट्याकी र बगाले सिमकुखुरा विन्टर भिजिटर चरा हुन् । पहेलो जुनबकुल्ला र रातो जुनबकुल्ला समर भिजिटर हुन् । तर, यी चारै चरा अहिले जगदीशपुरमा रैथाने बनेका छन्, चराविद् भूषालले बताए । यो जलवायु परिवर्तनको असर पनि हुन सक्छ, उनले भने । समुद्री चरा ठिमाहा फ्यालफ्याले पनि अहिले जगदीशपुरको रैथाने चरा बनेको छ ।
१ सय ५७ हेक्टरमा रहेको ताल मुलुकको दोस्रो पक्षी आरक्ष हो । तालले हिउँदमा उत्तरी क्षेत्रबाट बसाइँ सरेर आउने सबैभन्दा धेरै पानी चरालाई आश्रय दिँदै आएको छ । यहाँ हिउँदे आगन्तुक १५/२० हजार बढी चरालाई तालले हरेक वर्ष जाडोका ५/६ महिना आश्रय दिँदै आएको छ ।
माउ–बचेरा वात्सल्य प्रेम, हुर्काउन गरेको संघर्ष र उनीहरूको हरेक गतिविधि निक्कै रोमाञ्चक बनाइरहेको नेचर गाइड विशाल वाग्लेले बताए । चराको चिरबिराहटसँगैको चञ्चलता, कलरव र जलक्रीडाले मानव जीवनलाई उल्लासमय बनाउने वातावरण रहेको उनले बताए । ‘जगदीशपुरमा वास्तवमा चरा पर्यटनको गजबको आकर्षण छ,’ उनले भने, ‘यसको प्रचार मात्र गर्न सकियो भने मुलुकले राम्रो फाइदा पाउँछ ।’
कपिलवस्तु नगरपालिकाका वडा नं. ९ र १० मा रहेको पक्षी आरक्ष अहिले चरा अवलोकन गर्न मुलुककै उत्कृष्ट स्थल बनेको छ । पक्षी आरक्षमा ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरिसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइने उल्लेख गरिएको छ । त्यस्तै ताल क्षेत्रमा १ सय ६८ प्रजातिका चरा पाइने जनाइएको छ । त्यसमध्ये ९२ प्रजातिका रैथाने, ९ प्रजातिका गर्मी याममा आउने, ६४ प्रजातिका चराहरू जाडो याममा आउने र ३ प्रजातिका चराहरू आंशिक प्रवासी रहेको आईयूसीएन नेपालले गरेको अध्ययनले देखाएको छ ।
