अवैध चोरीतस्करी नियन्त्रणमा समन्वयसहित सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन

मन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय र तीनवटै सुरक्षा संयन्त्रसहित सरोकारवाला सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न निर्देशन दिए।

भाद्र १५, २०८२

शंकर आचार्य

Home Minister's directive to increase proactiveness with coordination in controlling illegal smuggling

What you should know

पर्सा — गृहमन्त्री रमेश लेखकले सीमा नाकामा हुने अवैध चोरी पैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् ।

उनले स्थानीय प्रशासन, भन्सार कार्यालय र तीनवटै सुरक्षा संयन्त्रसहित सरोकारवाला सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्नलाई निर्देशन दिएका थिए ।

उनले राजस्व चुहावट नियन्त्रणका लागि सबै सरोकारवाला निकायबीच आपसी समन्वय अपरिहार्य रहेको बताउँदै यो काममा एकले अर्कालाई दोषारोपण गरेर मात्र नहुने बताए । गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने अवैध चोरी तस्करी र अन्य आपराधिक गतिविधि न्यूनीकरणका लागि मातहतका अधिकारीहरुलाई पहलकदमी गर्न पनि निर्देशन दिए ।

बैठकमा वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले कार्यालयले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उत्साहजक रुपमा राजस्व सङ्कलन गरेको बताए । उनले चालु आवमा पनि लक्ष्यअनुसारको सङ्कलन हुने अपेक्षा  रहेको र यसका लागि चोरी तस्करी नियन्त्रण आवश्यक रहकोले सम्बद्ध सबै निकायको सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुरक्षा निकायले बिलबिजक बिना तस्करीका मालवस्तु ओसार्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए । उनले भने, ‘भारतीय नागरिकले नेपालका कम आयआर्जन भएका नागरिकको नागरिकताको दुरुपयोग गरी विभिन्न फर्महरु दर्ता गरी त्यसै मार्फत् तस्करी गर्ने प्रवृत्ति देखिएकाले यस तर्फ सजग हुन आवश्यक छ।'

हालै मात्र पर्साको जिम्मेवारी सम्हालेका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्लाको शान्ति सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि आफू सम्बद्ध सरोकारवाला निकायसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

बैठकमा सहभागी नेपाल प्रहरी मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले भन्सार नाका वरपर गोदाम खोल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक रहेको बताए । उनले यस्ता गोदामहरुबाट तस्करी कार्य संरक्षित हुने भएकाले भन्सार वरपर गोदाम खोल्ने प्रवृत्ति निरुत्साहित हुन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

बैठकमा संघिय सरकारका कानून, न्याय तथा संसदिय मामिला मन्त्री अजय कुमार चौरसिया र खानेपानी मन्त्री प्रदीप यादव समेत सहभागी थिए।शनिबार राति वीरगन्ज आइपुगेका गृहमन्त्री लेखक आइतबार वीरगन्जमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully