दुई महिनाअघि बिहे गरेकी दीपाकुमारीको शंकास्पद मृत्यु दाइजोका कारण भएको केटी पक्षको दाबी छ । प्रहरीले दीपाको घाँटीमा निलडाम देखिएको बताएको छ ।
What you should know
काठमाडौँ — दुई महिनाअघि सप्तरीको महादेवा गाउँपालिका–१ सोनरा टोलका २५ वर्षीय दिपककुमार यादवको घरमा बेग्लै उत्साह थियो । आफन्तीहरुको भेला अनि भोजको रमाइलो । तर आइतबार यही घरमा बेग्लै कलङमलङ थियो । बेग्लै सन्नाटा थियो ।
दीपककी २१ वर्षीया पत्नी दीपाकुमारी मृत्यु भएको खबर एकैछिनमा टोलभरि फैलिएको थियो । चार बिघाजती जमिन भएका र करारमा सव-ओभरसियरको पदमा काम गरिरहेका दीपक र उनका बाबु परशुराम यादव नै दीपाको मृत्युमा जिम्मेवार भएको स्थानीयहरु बताइरहेका छन् । स्थानीय र दीपाका परिवारको सदस्यहरुको भनाइ छ, उनीहरुले बिहेलगत्तै गालीगलौज गर्दै थप दाइजो ल्याउन तनाव दिँदै आएका थिए ।
मृतकका परिवारजनका अनुसार दिपकले शुक्रबार दिपाकी भाउजु सुजितालाई फोन गरेर दाइजोका विषयमा कुरा गरेका थिए । ज्वाइँ रिसाएको कुरा थाह पाएपछि सुजिताले पटकपटक फन गरेर दिपाको खबर बुझ्ने प्रयास गरेकी थिइन् । तर दिपकको फोन उठेन् । सुजिताले भनिन्, 'राति अबेरसम्म फोन गर्दा पनि उठेन् ।'
शनिबार बिहान सुजिताले दिपाको खबर बुझ्न सोनरा टोलका स्थानीयलाई फोन गरिन् । दिपकका छिमेकीहरुले विवाहपछि झै–झगडा हुँदै आएको विषय बताए । दिउँसो दीपाका ठूलो बुवा भगवतीप्रसादसहितले सोनरा जाने तयारी गर्दै गर्दा उनीहरुले खबर पाए, दीपालाई अस्पताल लगेको छ । त्यसपछि उनीहरु हान्निएर अस्पताल पुगे । त्यही पुगेपछि थाह पाए दीपाको मृत्यु भइसकेको छ ।
अस्पतालका अनुसार दीपालाई अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको थियो । अस्पतालले नै खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली अस्पताल पुगेको थियो । अनुसन्धान टोलीले दीपाको शरीरको विभिन्न भागमा चोट र घाँटीमा पनि निलडाम देखिएर घटना शंकास्पद लागेपछि दिपक र ससुरा परशुरामलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले घटनाका सम्बन्धमा घरका अन्य सदस्य र छिमेकीसँग पनि सोधपुछ गरेको छ । ‘घाँटीमा निलडाम पनि देखिएको छ अनि सुरुमा उनीहरुले प्रहरी वा दीपाका परिवारलाई पनि जानकारी गराएको छैन,’ सप्तरी प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले भने, ‘शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।’
दीपाका हजुरबुवा पर्ने सञ्जय यादवले विवाहमा दाइजो भनेरै केटीपक्षले ११ लाख रुपैयाँ दिएको बताए । वैदेशिक रोजगारीका क्रममा मलेसिया रहेका दीपाका बुवा संजिवले सबै गरेर २५ लाख खर्चेर छोरीको बिहे गराएको सञ्जय बताए । दीपाका परिवारका सदस्यहरुका अनुसार बिहेको सामान दिएपछि पनि दिपककुमारको परिवारले थप ५० हजार रकम माग गर्दै आएका थिए ।
