बिरामी परेको भन्दै पति दिपक र ससुरा पर्शुरामसहितकाले शनिबार दीपालाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याएका थिए । तर, उनको अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिलिपकुमार साहले बताए ।
What you should know
राजविराज — सप्तरीको महादेवा गाउँपालिका–१ सोनरा टोलमा दुई महिनाअघि नै विवाह भएकी २१ वर्षीया दीपाकुमारी यादवको शंकास्पद मृत्यु भएको छ । दुई महिनादेखि उनलाई पति २५ वर्षीय दिपककुमार यादव र ससुरा परशुराम यादवले गालीगलौज गर्दै थप दाइजो ल्याउन तनाब दिँदै आएका थिए।
पछिल्लो पटक शुक्रबार दिपकले दीपाकी भाउजु डाक्नेश्वरी नगरपालिका–४ भुतहीकी सुजितालाई नै फोन गरेर अर्को विवाह गर्छु भनी धम्की दिँदै दीपालाई लैजान भनेका थिए । तर, त्यसलगतै पटक-पटक अबेर रातिसम्म फोन फर्काउँदा पनि कसैले फोन नउठाएको सुजिताले बताइन् ।
शनिबार सोनरा टोलभन्दा छेउको गाउँमा फोन गर्दा उनीहरुको घरमा विवाहपछि झै–झगडा हुँदै आएको विषय थाहा पाएपछि सोनराका लागि निस्किँनै लाग्दा दीपालाई अस्पताल ल्याएको कुरा जानकारीमा आएको उनले बताइन् । बिरामी परेको भन्दै पति दिपक र ससुरा पर्शुरामसहितकाले शनिबार दीपालाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याएका थिए । तर, उनको अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.दिलिपकुमार साहले बताए ।
दीपाको शव अस्पतालको शवगृहमा राखिएको छ भने उनका परिवारले दीपाको हत्या भएको भन्दै प्रहरीमा जाहेरी दिएका छन् । ‘असार ४ मा विवाह हुँदा हामीले सकेजति दहेज (दाइजो) दिएकै हो तर विवाहपछि पनि थप दहेज माग्दै थियो,’ दीपाका ठुलो बुवा भगवतीप्रसाद यादवले भने, ‘भाइ संजिव वैदेशिक रोजगारी गरेर ती बेला २५ लाख रुपैयाँ खर्च गरेकै हो, थप दहेज दिनसक्ने अवस्था थिएन ।’
दाइजो नदिँदा दिपक र परशुराम मिलेर योजनाअनुसार दीपाको हत्या गरेको उनको दाबी छ । ‘दीपा विरामी परेको भए हामीलाई जानकारी गराउथ्यो नि, उल्टै पटक-पटक फोन गर्दा पनि उठाएन’ उनले भने, ‘हामीलाई न्याय चाहियो, न्यायको लागि सहयोग गर्न सबैमा अपिल गर्दछु ।’
सप्तरी प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले घटना शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि मृतकका पति र ससुरालाई नियन्त्रणमा लिएको बताए । ‘घाँटीमा निलडाम पनि देखिएको छ अनि सुरुमा उनीहरुले प्रहरी वा दीपाका परिवारलाई पनि जानकारी गराएको छैन्’ उनले भने, ‘शव पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको छ ।’
