हलेसी तुवाचुङ नगरपालिका-४ स्थित लक्ष्मी माध्यमिक विद्यालय, बडहरेको विद्यालय भवन निर्माण गर्दा रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
काठमाडौँ — खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराई, केशवप्रसाद दाहाल र ज्ञानमणि नेपालसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
हलेसी तुवाचुङ नगरपालिका-४ स्थित लक्ष्मी माध्यमिक विद्यालय, बडहरेको विद्यालय भवन निर्माण गर्दा रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा दर्ता हुनेहरुमा तत्कालीन जिशिअ भट्टराई, दाहाल र नेपाल, जिल्ला शिक्षा कार्यालयका तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य, लेखापाल सुरेशकुमार श्रेष्ठ, सव-इन्जिनियर शिवराज राई छन् ।
यस्तै लक्ष्मी माविका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु पृथ्वी दाहाल, शेषकुमार पौड्याल, तत्कालीन प्रधानाध्यापकद्वय राजेन्द्रप्रसाद दाहाल र ऋषिराम पोखरेल, प्रधानाध्यापक नयनकुमार राई, तत्कालीन लेखापाल सीता कार्की र लक्ष्मी माविको भवन निर्माणको जिम्मेवारी पाएका अर्जुन तामाङविरुद्ध बिगो कायम गर्दै कैद सजायको मागदाबीसहित मुद्दा दर्ता गरिएको छ ।
'भवन निर्माण नै नभएको अवस्थामा समेत राष्ट्रसेवक तथा संलग्न अन्य व्यक्तिहरु समेतको आपसी मिलेमतोमा आफूहरुलाई लाभ र नेपाल सरकार/सार्वजनिक संस्थाको रुपमा रहेको विद्यालयलाई गैरकानुनी हानि पुर्याउने बदनियतले झुट्टा बिल, भर्पाई समेतका कागजात पेस गरी/गराई भुक्तानी दिएको/दिलाएको तथा कानुनविपरीत फरक प्रयोजनका लागि सम्बन्धित बजेट शीर्षकबाट खर्च नगरी अन्य शीर्षकमा खर्च गरी गराएको तथ्य स्थापित भएकोले,' आरोपपत्रमा लेखिएको छ, 'उक्त कार्यमा संलग्न देहायबमोजिमका प्रतिवादीहरुउपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।'
तत्कालीन जिशिअहरु भट्टराईसँग १० लाख, दाहाल र नेपालसँग जनही १४ लाख र तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्यलाई १० लाख, तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठ र तत्कालीन सव-इन्जिनियर शिवराज राईसँग २४/२४ लाख बिगो कायम गर्दै कैद सजाय मागदाबी गरिएको छ ।
लक्ष्मी मावि, खोक्सेली, खोटाङका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी दाहालसँग ८ लाख, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेषकुमार पौड्यालसँग १३ लाख १२० रुपैयाँ, लक्ष्मी माविद्यालयका तत्कालीन प्रधानाध्यापकद्वय राजेन्द्रप्रसाद दाहाल र ऋषिराम पोखरेलसँग जनही ८ लाख, प्रधानाध्यापक नयनकुमार राईलाई ५ लाख १२० रुपैयाँ बिगो असुलउपर गर्न र भ्रष्टाचार ऐनअनुसार कैद सजाय माग दाबी गरिएको छ ।
यस्तै लक्ष्मी माविकी तत्कालीन लेखापाल सीता कार्कीसँग २१ लाख १२० रुपैयाँ र लक्ष्मी माविको भवन निर्माणको जिम्मेवारी पाएका अर्जुन तामाङलाई १६ लाख बिगो र कैद सजाय माग गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
आर्थिक वर्ष २०७१/०७२ मा लक्ष्मी माविको ४ कोठे आरसीसी भवन निर्माण कार्यका लागि जिल्ला शिक्षा कार्यालय विनियोजन गरेको २४ लाख रुपैयाँ र विद्यालयले व्यहोर्ने जनश्रमदान २५ प्रतिशतसमेत गरी ३० लाख रुपैयाँको लागत इष्टिमेट तयार गरी भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय खोटाङ र विद्यालयबीच ०७१ फागुन २२ मा सम्झौता भएको थियो । भवन निर्माण गर्दा सम्झौताको शर्तविपरीत रकम निकासा गरे/गराएको एवं स्थलगत नापजाँच तथा प्राविधिक प्रतिवेदनबाट फिल्डमा जम्मा २ लाख ७२ हजार ३२८ रुपैयाँ ६१ बराबरको मात्र भवन निर्माण भएको देखिएको थियो । तर दुई पक्षबीच भएको सम्झौताविपरीत हुँदै नभएको कामको झुट्ठा र गलत भौतिक कार्य प्रगतिसम्बन्धी प्राविधिक मूल्यांकन गराई विद्यालयले भुक्तानीका लागि माग गरेकोमा जिल्ला शिक्षा कार्यालयले पटकपटक गरी २४ लाख रुपैयाँ भुक्तानी गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
