प्रतिनिधिसभामा छलछाम गरिएको निजामती विधेयकको 'कुलिङ अफ पिरियड' को व्यवस्था सच्चियो

विधायन व्यवस्थापन समितिले निजामती विधेयकमा दुई वर्ष 'कुलिङ अफ पिरियड'को व्यवस्था राख्न सहमति जुटाएको छ ।

भाद्र १४, २०८२

कान्तिपुर संवाददाता

The 'cooling off period' provision of the Civil Bill, which was rigged in the House of Representatives, was corrected

What you should know

काठमाडौँ — राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकमा दुई वर्षको 'कुलिङ अफ पिरियड' राख्ने सहमति गरेको छ । समितिको शनिबारको बैठकले निजामती कर्मचारीका लागि दुई वर्षको 'कुलिङ अफ पिरियड' राख्ने व्यवस्था गरेको हो । 

प्रतिनिधिसभामा 'कुलिङ अफ पिरियड' व्यवस्थामाथि छलछाम गरिएको थियो । राज्यव्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले राखेको व्यवस्था खण्डित हुने प्रावधान राखेर संसद्ले गरेको निर्णयमाथि छलछाम गरिएको थियो ।  

विधायन व्यवस्थापन समितिको शनिबारको बैठकमा 'कुलिङ अफ पिरियड' दुई वर्ष राख्ने सहमति भएको हो । समितिमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सांसदहरूले उठाएका विषयअनुसार 'कुलिङ अफ पिरियड' राख्न सरकार सहमत रहेको बताइन् । 'कुलिङ अफ पिरियड' को प्रावधान तल्लो तहका कर्मचारीलाई भन्दा पनि मुख्यसचिव, सचिव र सहसचिवहरूलाई लागु हुनुपर्ने सांसदहरूको भनाइ थियो । उक्त कुरा स्वीकार गर्दै मन्त्री न्यौपानेले भने, 'यो व्यवस्था राख्दा तलका कर्मचारीहरूलाई अप्ठ्यारो नहोस् । निजामती विधेयकमा नै कुलिङ अफ पिरियडको व्यवस्था राखेर जानुपर्छ भन्ने स्थापित भइसकेको छ । त्यसो भएकाले अहिले त्यै ढंगले सकारात्मक सोचका साथ निष्कर्षमा पुग्न जरुरी छ । कुलिङ अफ पिरियडमा धेरै माननीयहरूको धारणा जे छ त्यसैमा जाऊँ ।'

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा नेपाललगायतका सांसदहरूले दुई वर्षको 'कुलिङ अफ पिरियड' राख्नुपर्ने धारणा राखेका थिए । एमालेले भने 'कुलिङ अफ पिरियड' राख्नुपर्ने तर दुई वर्षभन्दा कम गर्न सकिन्छ कि भन्ने प्रस्ताव गरेको थियो । यो व्यवस्था राख्न सहमति जुट्दा एमालेका सांसदहरूले आफ्नो धारणा नराखी मौन समर्थन जनाएका थिए । 

समिति सभापति तुलसा दाहालले समितिमा भएका व्यवस्थालाई भाषागत रूपमा मिलाएर प्रतिवेदन लेख्न समिति सचिवालयलाई निर्देशन दिइन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट निजामती विधेयक पारित गर्ने क्रममा ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामा छलछाम भएको थियो । समितिले दफा ८२ (४) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउनेछैन’ भन्ने प्रावधानसहितको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।

‘कुलिङ अफ पिरियड’ को व्यवस्था समितिले राखेपछि विधेयकमा पहिल्यै राखिएको ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नियुक्ति लिन नपाइने’ भन्ने व्यवस्था हटाउनुपर्ने थियो । तर त्यसलाई दफा ८२ (५क) मा कायमै राखिएपछि समितिले पारित गरेको व्यवस्था खण्डित भएपछि सर्वत्र प्रश्न उठेको थियो ।

उक्त प्रकरणको छानबिन गर्न विशेष समिति गठन गरिएको थियो । उक्त समितिले पनि 'कुलिङ अफ पिरियड'को व्यवस्था खण्डित हुने प्रावधान राष्ट्रिय सभाबाट हटाउनुपर्ने सुझाव दिएको थियो । छानबिन समितिको उक्त सुझावलाई पनि मध्यनजर गरेर राष्ट्रिय सभा अन्तर्गतको संसदीय समितिले 'कुलिङ अफ पिरियड' दुई वर्ष राख्ने निर्णय गरेको हो । 

यो विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा आएको हो । राष्ट्रिय सभाबाट यो विधेयक भाद्र १७ गतेभित्र पारित भएर प्रतिनिधिसभामा फिर्ता भइसक्नुपर्छ । राष्ट्रिय सभाले विधेयक फिर्ता पठाएपछि सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनुपर्नेछ । त्यसपछि यो ऐन कार्यान्वयनमा आउनेछ । 

यो विधेयक कार्यान्वयनमा आएपछि निजामती वा सरकारी कर्मचारीले अनिवार्य अवकाश वा राजीनामापछि संवैधानिक, कूटनीतिक र सरकारीसँगै स्वार्थ बाझिने गरी गैरसरकारी संस्थामा दुई वर्षसम्म नियुक्ति लिन नपाउने ‘कुलिङ अफ पिरियड’ लागु हुनेछ । यो विधेयकमा कर्मचारीको अवकाश उमेर ५८ बाट बढाएर ६० वर्ष पुर्‍याइएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully