प्रधानमन्त्री ओलीले सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्दै छन् ।
What you should know
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् । सांघाई सहयोग संगठन (एससीओ) को २५ औं शिखर सम्मेलन तथा ‘एससीओ प्लस’ बैठकमा सहभागी हुन आज बिहान प्रधानमन्त्रीसहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको हो ।
प्रधानमन्त्री ओलीले सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्दै छन् । भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै व्यापार पुनः सुरु गर्ने गत साता सहमति गरेको पृष्ठभूमिमा ओलीको चीन भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । भारत र चीनले गरेको सहमतिप्रति नेपालले औपचारिक रूपमा विरोध जनाइसकेको छ । यसकारण पनि सम्मेलनको साइडलाइनमा हुने उच्चस्तरीय भेटलाई नेपाली पक्षले कसरी उपयोग गर्छ भन्ने चासो सबैतिर छ ।
एससीओ बैठक १५–१६ भदौमा चीनको तियानजिन सहरमा हुँदै छ । नेपाल ‘डायलग पार्टनर’ का रूपमा एससीओमा सहभागी हुन लागेको हो । नेपाल एससीओको सदस्य राष्ट्र भने होइन । ओलीले ‘एससीओ प्लस’ बैठकलाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओलीले १७ भदौमा चीनका उपराष्ट्रपति हान चङसँग बेइजिङमा भेट गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार सोही दिन बेइजिङमा आयोजना गरिने जापानी आक्रमणविरुद्ध चीनको विजयको ८० औं वार्षिकोत्सव कार्यक्रममा समेत प्रधानमन्त्री ओली सहभागी हुनेछन् । गत वर्ष प्रधानमन्त्री भएपछि ओलीको यो दोस्रो चीन भ्रमण हो । गत वर्ष १७–२० मंसिरमा ओलीले चीन भ्रमण गरेका थिए ।
![Prime Minister Oli leaves for China [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/5412285571012694970841556850936870970520245n-3082025034130-1000x0.jpg&w=1001&h=0)