'जापानविरुद्ध चीनको विजयोत्सव'माप्रधानमन्त्री ओलीको सहभागितालाई लिएर किन प्रश्न उठिरहेको छ ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

प्रधानमन्त्रीको सहभागिताले के नेपाल-जापानबीचको झन्डै ७० वर्ष पुरानो सम्बन्धमा असर पार्छ ? इतिहासको त्यो कुन घटना थियो, जसले चीन र जापानबीच अहिले पनि चिसो सम्बन्ध बनाइराखेको छ ?

भाद्र १३, २०८२

राजेश मिश्र

In 'China's victory over Japan'Why is there a question about the participation of Prime Minister Oli? Find out in 5 questions and answers

What you should know

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिन सहरमा हुने सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन शनिबार त्यसतर्फ जाँदै छन् । यही भ्रमण क्रममा प्रधानमन्त्री ओली 'जापानविरुद्ध चीनको ८०औं विजयोत्सव' समारोहमा सहभागी हुने भएपछि कूटनीतिक क्षेत्रमा प्रश्न उठेको छ ।

प्रधानमन्त्रीको सहभागिताले के नेपाल-जापानबीचको पुरानो सम्बन्धमा असर पार्छ ? इतिहासको त्यो कुन घटना थियो, जसले चीन र जापानबीच अहिले पनि चिसो सम्बन्ध बनाइराखेको छ ? अनि यो परिस्थितिमा हाम्रा प्रधानमन्त्रीको उपस्थितिले नेपाललाई के असर पार्छ ? हामीले यही विषयलाई पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।

जापानले सन् १९३० को सुरुवातमा चीनमाथि आक्रमण गरेको थियो । जर्मनी, इटाली र जापानको एक्सिस गठबन्धन दोस्रो विश्वयुद्धमा खतरनाक गठबन्धनका रुपमा अघि बढेको थियो । चीनको सशक्त प्रतिरोध र अमेरिकाको भीषण हमलापछि परास्त भएको जापानले सन् १९४५ मा मात्रै चीन छाडेको थियो । इतिहास पढ्दा थाहा हुन्छ, त्यस युद्धका क्रममा जापानी सेनाहरुले चिनियाँ नागरिकसँग अत्यन्तै अमानवीय र क्रूर व्यवहार गरेका थिए । 

जापानमाथि विजय प्राप्त गरेको दिनलाई स्मरण गर्दै चीनले ३ सेप्टेम्बरमा विशेष कार्यकमको आयोजना गर्दै आएको छ । त्यस कार्यक्रमलाई चीनले 'जापानी आक्रमणविरुद्ध चिनियाँ जनयुद्ध र विश्व फासिस्टविरोधी युद्धको विजयको वार्षिकोत्सव' भनेको छ । भदौ १८ गते बेइजिङको थ्यानमन स्क्वायरमा भव्यताका साथ उक्त कार्यक्रम गरिँदै छ । जहाँ सैन्य परेड र बृहत् प्रदर्शनीसमेत हुनेछ । त्यसअघि चीनको तियानजिन सहरमा १५-१६ भदौमा संघाई शिखर सम्मेलन आयोजना हुँदै छ । उक्त सम्मेलनमा सहभागी गराउन चीनले विभिन्न देशका पाहुनालाई निम्ता दिएको छ । त्यही क्रममा नेपालका प्रधानमन्त्री ओली एससीओ सम्मेलनमा सहभागी भएपछि बेइजिङको थ्यानमन स्क्वायरको कार्यक्रममा भाग लिने तयारी छ ।

चीनले जापानमाथि विजय गरेको दिनका अवसरलाई सम्झिन गर्न लागेको कार्यक्रममा नेपालबाट त्यो पनि प्रधानमन्त्रीकै तहबाट हुने सहभागितालाई लिएर नेपालको कूटनीतिक क्षेत्रमा प्रश्न उठेको छ । चीन र जापान दुवै नेपालका मित्र तथा विकास साझेदार हुन् । छिमेकी चीनले आयोजना गर्ने कार्यक्रममा नेपालको सहभागिता हुनु स्वभाविक हो । तर त्यहाँ नेपालको अर्को पुरानो मित्र जापानमाथि चीनले गरेको विजयोत्सव समारोह भएकाले प्रधानमन्त्री तहबाटै त्यस कार्यक्रममा हुने सहभागितालाई लिएर प्रश्न उब्जेको हो ।

जापान सरकारले एसिया तथा युरोपका देशलाई त्यस कार्यक्रममा सहभागिता नजनाइदिन आग्रह गरेको छ । यस्तो परिस्थितिमा नेपालको सहभागितालाई जापानले नराम्रो मान्न सक्ने आशंका कूटनीतिक वृत्तमा छ । नेपाल-जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । सन् २०२६ मा नेपाल-जापान  कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा हुँदै छ । जापानले सन् १९५४ देखि नै नेपालको सामाजिक आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएको छ । विद्युत् उत्पादन, सडक, पुल, खानेपानी, दूरसञ्चारको क्षेत्रमा जापानको सहयोग महत्वपूर्ण छ ।

यो सबै पृष्ठभूमिका कारण चीनले जापानविरुद्ध हासिल गरेको विजयको ८०औं वार्षिकोत्सवमा नेपालको सहभागिताले जापानको चित्त दुखे त्यो नेपालका लागि राम्रो नहुने विश्लेषण छ । प्रधानमन्त्रीको उपस्थितिलाई नेपालको पनि एउटा पक्षधरता देखिने कूटनीतिक मामिलाका जानकारको चिन्ता छ । त्यसैले उनीहरुले यो भ्रमण नेपालको परराष्ट्र नीतिविरुद्ध हुने टिप्पणी गरेका छन्  ।

बेइजिङको थ्यानमन स्क्वायरको कार्यक्रममा नेपालका प्रधानमन्त्रीसहित २६ देशका नेताहरुको सहभागिता हुँदै छ । सैन्य परेडमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङसँग प्रधानमन्त्री ओलीको उपस्थिति हुनेछ । रुस, उत्तर कोरिया, पाकिस्तान, मलेसिया, कम्बोडिया, लाओस, इन्डोनेसिया, मंगोलिया, कजाखस्तान, उज्वेकिस्तान, ताजिकिस्तानका नेताहरू पनि त्यहाँ सहभागी हुँदै छन् । त्यस्तै, किर्गिस्तान, तुर्केमेनिस्तान, अजरबैजान, अर्मेनिया, इरान, क्युबा, म्यानमार, माल्दिभ्स, जिम्बाब्वे, सर्बिया, स्लोभाकिया र कंगोका सरकार  वा राष्ट्र प्रमुखहरु त्यहाँ सहभागी हुँदै छन् ।

एससीओ सम्मेलनमा सहभागी हुने भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने त्यस कार्यक्रमको सूचीमा छैनन् । चीन जानुपूर्व मोदी जापानको भ्रमणमा छन् । उनी जापानबाटै चिनियाँ सहर तियानजिन पुग्दै छन् । एससीओ सम्मेलनलगत्तै उनी भारत फर्किने कार्यक्रम छ । पश्चिमा मिडियाहरुले थ्यानमन स्क्वायरको समारोहले चीन, रुस र उत्तर कोरियाबीचको राजनीतिक एकता देखाउने प्रयासका रूपमा व्याख्या गरेको छ । 

उक्त कार्यक्रममा सहभागिताका लागि चीनले पहिला राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा गरेको थियो । तर नेपालको जापानसँगको घनिष्ठ सम्बन्धका कारण उनले अस्वीकार गरेका थिए । उनका सल्लाहकार र परराष्ट्रका अधिकारीले त्यस कार्यक्रममा नजान राष्ट्रपतिलाई सुझाव दिएका थिए । राष्ट्रपति हुनुभन्दा अगाडि नै जापानले सन् २०२२ मा पौडेललाई ‘ग्रान्ड कर्डन अफ द अर्डर अफ द राइजिङ सन’बाट सम्मानित गरेको थियो । त्यस कारण पनि उनले चीनको विजय परेडमा सहभागी हुन अनिच्छा प्रकट गरेको शीतलनिवासका अधिकारीहरू बताउँछन्।

प्रधानमन्त्री ओली शनिबारदेखि चीन भ्रमणमा जाँदै छन् । नेपाल ‘डायलग पार्टनर’ का रूपमा एससीओमा सहभागी हुन लागेको हो । ओलीले ‘एससीओ प्लस’ बैठकलाई सम्बोधन गर्नेछन् । त्यहाँ उनले चीनका राष्ट्रपति सी चिनफिङलाई भेट्ने छन् । सम्मेलनका अवसरमा सहभागी अन्य देशका नेतासँग पनि प्रधानमन्त्री ओलीको ‘साइडलाइन’ भेट हुनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि ‘साइडलाइन’भेटको तयारी छ ।

प्रधानमन्त्री ओलीले १७ भदौमा चीनका उपराष्ट्रपति हान चङसँग बेइजिङमा भेट गर्नेछन् ।  जापानी आक्रमणविरुद्ध चीनको विजयको ८० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी भएर १८ भदौमा उनी नेपाल फर्किने कार्यक्रम छ । गत वर्ष प्रधानमन्त्री भएपछि ओलीको यो दोस्रो चीन भ्रमण हो । गत वर्ष १७–२० मंसिरमा ओलीले चीन भ्रमण गरेका थिए ।

सम्बन्धित समाचार 

जापानविरुद्ध चीनको विजय परेडमा प्रधानमन्त्री ओलीको सहभागितामा प्रश्न

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully