राजस्व अनुसन्धान विभागले फरार रहेका डिभिजन वन कार्यालय हुम्लाका निमित्त वन अधिकृत लोकजंग शाही र कुन्साङ दोर्जी लामालाई पक्राउ गरी उपस्थित गराइदिन नेपाल प्रहरीलाई पत्राचार गरेको छ ।
What you should know
काठमाडौँ — विद्युतीय चुरोट(भेप) तस्करीको आरोपमा राजस्व अनुसन्धान विभागले छानबिन अघि बढाएपछि डिभिजन वन कार्यालय हुम्लाका निमित्त वन अधिकृत लोकजंग शाही ‘फरार’ भएका छन् ।
डिभिजन वन कार्यालय हुम्लाबाट ५ हजार केजी सेतक चिनी उल्लेख गरेर बाँकेको नेपालगन्जका लागि जाँचपास गरिएको कन्टेनरमा तस्करीका ३९ हजार ९ सय थान भेप फेला परेपछि हुम्लाका डिभिजन वन अधिकृत शाही शंकाको घेरामा तानिएका थिए । त्यसपछि विभागले अनुसन्धान सुरु गरेसँगै शाही सम्पर्कविहीन भएका हुन् । तस्करीका भेप नेपाल–चीन सीमा क्षेत्र हुम्लाकै नाम्खा गाउँपालिकाको लिमी हुँदै भित्रिएको र त्यही भेप उनीसँगै सेतक चिनीका मालिक कुन्साङ दोर्जी लामा पनि फरार भएका छन् । राजस्व अनुसन्धान विभागका एक अधिकारीले फरार दुवैजनालाई पक्राउ गरिदिन नेपाल प्रहरीलाई पत्राचार गरिएको जानकारी दिए । विभागको पत्रपछि फरार दुवै जनाको खोजी कार्य भइरहेको एक प्रहरी अधिकृतले जानकारी दिए ।
‘विभागले दुवैजनालाई उपस्थित गराउन पत्र पठाएको थियो, अहिले संलग्न व्यक्तिको खोजी कार्य जारी छ,’ ती प्रहरी अधिकृतले भने । फरार रहेका शाही कांग्रेस नेता एवं पूर्वमन्त्री जीवनबहादुर शाहीका भाइ हुन् । लोकजंग विगत १६ वर्षदेखि हुम्ला वन कार्यालयमा कार्यरत रहेको पनि खुलेको छ ।
कैलाश–ईश्वर जडीबुटी खरिद बिक्री केन्द्रका सञ्चालक लामाले हुम्लाको सर्मथान राष्ट्रिय बनबाट संकलन गरी नाम्खा गाउँपालिका–१ मा घाटगद्दी गरिएको सेतक चिनी भन्दै गएको ३ भदौमा ५ हजार केजी जडीबुटी नेपालगञ्जसम्म लैजान अनुमतिपत्रका लागि निवेदन दिएका थिए ।
त्यसको पर्सिपल्ट ५ भदौमा वन अधिकृत शाहीले सेतक चिनी लैजान हुम्लादेखि नेपालगन्जसम्मका रुटमा पर्ने जिल्ला तथा इलाका हुँदै जान अनुमति दिएका थिए । त्यसपछि वनकै दुई कर्मचारी सन्तोष खत्री र कृष्णबहादुर हमालले नेपालगन्जसम्म पुग्ने रुट उल्लेख गरेर जाँचपास पत्र जारी गरेका थिए । यहीबीच राजस्वको टोलीलाई तस्करीका भेप भित्रिएको सूचना पहिल्यै पुगिसकेकामा यसमाथि निगरानी अघि बढिसकेको थियो । त्यसकै आधारमा एकातिर विभागले यसमा निगरानी बढाउन सुराकी परिचालन गरेको थियो भने अर्कातिर जाँचपास गरिएको कन्टेनर ७ भदौमा लामाले हुम्लाकै सिमकोटका २७ वर्षीय छिरिङ लामा तथा मुगुका ३२ वर्षीय जनक रोकाय र २७ वर्षीय भूमि रोकायसहित नेपालगन्ज तर्फ पठाएका थिए ।
भूमि कन्टेनरका चालक हुन् । जनक र छिरिङ जडीबुटी मालिक लामाका सहयोगी हुन् । तीनैजना जाँचपास गरिएको कन्टेनर लिएर बाँकेतर्फ प्रस्थान गरेकामा त्यसको पिछा गर्दै सशस्त्र प्रहरी बल (एपीएफ) सादा पोसाकका टोलीमार्फत राजस्वले पिछा गराएको थियो । त्यही क्रममा सशस्त्र प्रहरीको टोलीले दैलेखको ‘माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सुरक्षार्थ तैनाथ सशस्त्रको टोलीले खिड्की जिउलाबाट कन्टेनर र त्यसमा रहेका तीनैजनालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि राजस्वलाई पक्राउ परेका व्यक्ति र कन्टेनरलाई नेपालगञ्जतर्फ लैजाने क्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका अन्तर्गत राजमार्ग क्षेत्रमै पर्ने बांगे सीमलमा सशस्त्रको टोलीले कन्टेनर राजस्वको जिम्मा लगाएको थियो । सशस्त्रले कन्टेनर नियन्त्रणमा लिएको जानकारीपछि राजस्वको कोहलपुर कार्यालयका कर्मचारी सुर्खेत प्रस्थान गरेकामा बांगेसिमल पुगेपछि कन्टेनर जिम्मा लिएका थिए ।
त्यसपछि राजस्वले सशस्त्रको सुरक्षामा कन्टेनर कोहलपुर कार्यालय पुर्याएर खोल्दा ‘ईएलएफबीएआर’ ब्रान्डका ३९ हजार ९ सय थान तस्करीका भेप र २ हजार ४ सय ६ केजी सेतक चिनी भेटियो । कन्टेनरमा फेला परेको भेपको बजार मूल्य करिब १० करोड रुपैयाँ बराबरको रहेको बताइएको छ । वनले जाँचपासका क्रममा कन्टेनरमा ५ हजार केजी जडीबुटी उल्लेख गरेपछि आधाभन्दा कम परिमाणमा सेतक चिनी माथिल्लो भाग र त्यसभन्दा मुनी तस्करीमा भेप राखेर पठाएको भेटियो । अनि अघि बढेको अनुसन्धानका क्रममा भेप तस्करीमा वनकै अधिकृत शाही र जडीबुटी व्यापारी भनिएका लामाको संलग्नता खुल्ने आधारहरू भेटिएपछि राजस्वले दुवै जनालाई अनुसन्धानका लागि उपस्थित गराउन प्रहरीलाई पत्र पठाएको हो ।
‘प्रारम्भिक अनुसन्धानमा तस्करीका भेप नेपाल–चीन सीमा क्षेत्र हुम्लाको नाम्खा गाउँपालिकाको लिमी हुँदै भित्रिएको देखिन्छ, त्यसरी भित्रिएका भेप केही समय गोप्य ठाउँमा लुकाएर राखिएको र जब वनका कर्मचारीसँग सेटिङ मिल्यो, त्यसपछि सेतक चिनीको कन्टेनर देखाएर नेपालगन्जसम्म लैजाने र त्यसपछि भारत पठाउने तयारी रहेको देखिन्छ,’ अनुसन्धानमा संलग्न राजस्व स्रोतले भन्यो, ‘तर हामीलाई आएको सूचनाका आधारमा पछ्याउँदै जाँदा तस्करीमा संलग्न गिरोहको योजना सफल हुन सकेन ।’
हाल सम्पर्कविहीन बनेका लामा र वन अधिकृत शाहीबीच विगतमा पनि ‘अस्वाभाविक साँठगाँठ’ देखिएको र त्यही सम्बन्धका आधारमा शाही निमित्त वन अधिकृत भएको मौकामा तस्करीका भेप पास गराउने योजना बनाएको हुन सक्ने अनुसन्धान स्रोतको भनाई छ । हुम्लाका डिभिजन वन अधिकृत चन्द्रवीर गुरुङ ६ साउन २०८२ देखि कार्यालयकै कामको सिलसिलामा सुर्खेतस्थित कर्णाली प्रदेश वन मन्त्रालय काजमा झरेका थिए । गुरुङ सुर्खेत झरेपछि निमित्त प्रमुखका रूपमा शाहीले जिम्मेवारी सम्हालेका थिए । त्यसपछि सेतक निचीको आवरणमा तस्करीका भेप बाँके हुँदै भारतसम्म लैजान लामाले सक्रियता बढाएको खुलेको छ ।
