नगर प्रमुख मुसलमानको छातीमा समस्या देखिएपछि अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको हो।
भैरहवा — रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख ७२ वर्षीय सजरुद्धिन मुसलमानको शनिबार बिहान निधन भएको छ ।
मुसलमानको हृदयघातका कारण शनिबार बिहान निधन भएको नगरपालिकामा परामर्शदाता तुलसीराम लामिछानेले जानकारी दिए ।
गत निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखमा विजयी भएका थिए । उक्त निर्वाचनमा मुसलमानले जनमत पार्टीका सीके गुप्तालाई पराजित गरेका थिए ।
स्थानीय युवा करण पाण्डेका अनुसार बिहान मुसलमानको छातीमा समस्या देखिएपछि परिवारले उपचारका लागि चिकित्सकसहित भैरहवास्थित अस्पताल लैजाने क्रममा भैरहवा–लुम्बिनी सडक अन्तर्गत महजिदिया नजिक मृत्यु भएको पाण्डेले जानकारी दिए ।
अहिले लुम्बिनी सांस्कृतिक नगरपालिका–३, पडरियास्थित निवासमा मुसलमानको शव राखिएको छ । परिवारका अनुसार प्रमुखसहित नगरपालिकाको टिम एकसाता लामो सिंगापुर र मलेसियाको भ्रमण पूरा गरेर शुक्रबार मात्रै घर फर्किएका थिए ।
