तीनवटै तहको सरकार मिलेर जतिसक्दो छिटो हैजा प्रकोप नियन्त्रणमा लिने गृहमन्त्री लेखकले दाबी गरे । यसका लागि संघीय सरकारले सुरुमा नेपाल र सशस्त्र प्रहरी र त्यसपछि सेनालाई परिचालन गर्न तयार रहेको पनि बताए ।
पर्सा — गृहमन्त्री रमेश लेखकले सबै संयन्त्र प्रयोग गरेर जसरी भए पनि वीरगन्जमा हैजाको प्रकोप नियन्त्रण गर्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन् ।
शनिबार राति यहाँस्थित नारायणी अस्पतालमा अस्पताल प्रशासनअन्तर्गतका कर्मचारी तथा सुरक्षाकर्मीलगायत सरोकारवालालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । तीनवटै तहको सरकार मिलेर जतिसक्दो छिटो हैजा प्रकोप नियन्त्रणमा लिने उनले दाबी गरे । यसका लागि संघीय सरकारले सुरुमा नेपाल र सशस्त्र प्रहरी र त्यसपछि सेनालाई परिचालन गर्न तयार रहेको पनि बताए ।
हैजाको संक्रमण दर कम हुँदै गएको छ भनि ढुक्क भएर बस्ने अवस्था नरहेको भन्दै उनले समयमै नियन्त्रणमा नलिइए ठूलो समस्याको रुपमा देखा पर्न सक्ने बताए । उनले आफूले नेपाल र सशस्त्र प्रहरीका नायब उपरीक्षकहरु चिकित्सक रहेको दुई वटा टोली साथमा लिएर आएको भन्दै आइतबार दुवै टोलीलाई वीरगन्जमा जिम्मा लगाउने बताए ।
गृहमन्त्री लेखकले यसअघि अस्पतालमा भर्ना रहेका झाडापखाला तथा हैजाका बिरामीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । त्यस क्रममा उनले सुरुमा आकस्मिक कक्ष र त्यसपछि वार्डमा भर्ना रहेका बिरामी तथा तिनका आफन्तसँग संवाद गरेका थिए । उनको साथमा संघीय सरकारका अन्य दुई मन्त्रीहरु कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया र खानेपानीमन्त्री प्रदीप यादवसमेत रहेका थिए । सँगै कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला पनि थिए ।
