कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियसर्य नेपाल (सिडेन) को नयाँ नेतृत्वका लागि दुई समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
What you should know
काठमाडौँ — नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियसर्य नेपाल (सिडेन) को आठौं केन्द्रीय महाधिवेशन शनिबार हुँदै छ । नयाँ नेतृत्वका लागि दुई समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंह, एनपी साउद निकटबाट अध्यक्षमा रविभूषण झा प्रतिस्पर्धामा छन् । यस्तै महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, कांग्रेस नेता शेखर कोइराला, शशांक कोइरालालगायत बहुसंख्यक नेताको समर्थनमा धनेन्द्र केसी अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका छन् । देउवा निकट मानिने जितजंग बस्नेत र नैनसिंह महरको साथ पनि केसीले पाएका छन् ।
अधिकांश केन्द्रीय नेताको साथ पाएकाले केसी बलिया उम्मेदवार मानिन्छन् । अहिले अध्यक्षको प्रतिस्पर्धी झा र केसी प्यानल बनाएर मत माग्न व्यस्त छन् । झाको प्यानलबाट उपाध्यक्षमा मदन पुरी, महासचिवमा सुर्दशन शर्मा, उपमहासचिव खगेन्द्र अवस्थी र कोषाध्यक्षमा सुजित कोइराला छन् ।
केसी समूहबाट उपाध्यक्षमा सागर शमशेर शाही, महासचिवमा भूपेन्द्र श्रेष्ठ, उपमहासचिवमा सन्तोष नेपाल र कोषाध्यक्षमा रस्मिता बन्जरा छन् । केन्द्रीय समिति १८ सदस्यीय हुनेछ । प्यानलबाहेक महासचिवमा कुलराज खनाल प्रतिस्पर्धामा छन् ।
केन्द्रीय कार्यसमितिमा १८ जनाका लागि ३७ जनाको उम्मेदवारी परेको निर्वाचन केन्द्रीय कार्यसमिति सदस्य सञ्जय अधिकारीले बताए । निर्वाचनबाट ५ जना पदाधिकारी र १३ जना सदस्य चुनिनेछन् । अहिलेसम्म अध्यक्षमा २ जना, महासचिव ३ जना, उपाध्यक्ष, कोषाध्यक्ष र उपमहासचिवमा २/२ जनाको उम्मेदवारी परेको छ । १३ जना सदस्यका लागि २६ जनाले उम्मेदवारी दिएका छन् ।
प्रत्येक प्रदेशमा १५–१५ जनाको समिति रहनेछ । जसमा ५ जना पदाधिकारी र १० जना सदस्य हुनेछन् । मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भइसकेको अधिकारीले बताए । ‘अन्य केही प्रदेशमा केही पदमा निर्विरोध भएको र केहीमा निर्वाचन हुने छ,’ उनले भने, ‘निर्वाचन सकिएर नयाँ नेतृत्व चयन भइसकेपछि सबैलाई एकैचोटि निर्वाचित भएको प्रमाण पत्र दिन्छौं ।’
शनिबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म निर्वाचन हुनेछ । बागमती प्रदेशमा सबैभन्दा धेरै ४ हजार ९० जना सदस्य छन् । देशभर भने ६ हजार ५ सय ४७ जना सदस्य छन् । ‘मतदाता जो जहाँ छन्, त्यहीँबाट मतदान गर्ने व्यवस्था गरिएको छ,’ अधिकारीले भने, ‘सबै ठाउँमा एकैचोटि मतदान हुन्छ, पहिलोपटक केन्द्र, गण्डकी, मधेश प्रदेशमा इलेक्ट्रोनिक भोटिङको व्यवस्था गरिएको छ ।’ चुनावी प्रक्रिया पुरा भई अब निर्वाचन प्रक्रिया सुरु हुन मात्र बाँकी रहेको उनले सुनाए ।
