‘स्वर्णविन्दु प्राशन’ अभियानलाई लिएर सरकारपक्ष र पिडियाट्रिक सोसाइटीबीचको वार्ता निष्कर्षविहीन

‘लिखित सहमति भने भएन । अब चाँडै अर्को बैठक बसेर सहमति गछौं,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘स्वर्णविन्दु प्राशनलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागलगायत सरोकारवाला निकायले खोपको रुपमा प्रचार नगर्ने कुरा भएको छ ।’

भाद्र १३, २०८२

प्रशान्त माली

Talks between the government and the Pediatric Society regarding the 'Swarnavindu Prashan' campaign were inconclusive

What you should know

काठमाडौँ — सरकारले हालै सुरु गरेको ‘स्वर्णविन्दु प्राशन’ अभियानलाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल पिडियाट्रिक सोसाइटीका अधिकारीबीच भएको वार्ता निष्कर्षविहीन भएको छ ।

नेपाल पिडियार्ट्रिक सोसाईटीले बालबालिकालाई खुवाउने ‘स्वर्णभस्म’ ले ‘इम्युन बुस्टर’ गर्ने बारेमा हालसम्म कुनै पनि वैज्ञानिक प्रमाण उपलब्ध नभएको भन्दै तत्काल ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रम स्थगन गर्न माग गर्दै आइरहेका छन् । यसैलाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार दुई पक्षबीच छलफल भएको थियो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले हालै ‘बालबालिकाका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका, २०८२’ निर्देशिका स्वीकृत गरी धनगढीका एक बालकलाई स्वर्णभस्म खुवाएर ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रम औपचारिक रूपमा सुरु गरेका थिए भने मुलुकभार अभियान चलाउन ८० लाख रुपैयाँ बजेट पनि विनियोजन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले दुवै पक्षले 'साइड इफेक्ट नभएको बारे'मा अभिलेख खोज्नेबारे छलफल भएको बताए । ‘लिखित सहमति भने भएन । अब चाँडै अर्को बैठक बसेर सहमति गछौं,’ उनले भने, ‘स्वर्णविन्दु प्राशनलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागलगायत सरोकारवाला निकायले खोपको रुपमा प्रचार नगर्ने कुरा भएको छ ।’ उनले औषधी व्यवस्था विभागले पनि खोज अनुसन्धान गर्ने बारेमा छलफल भएको बताए । 

‘स्वर्णविन्दु प्राशन’ स्वर्ण भस्म, मधु (मह) र ब्राम्ही घृत मिलाएर शास्त्रीय विधिद्वारा तयार पारिने अर्ध तरल सम्मिश्रण हो । ब्राम्ही घृत घोडताप्रे जस्ता जडिबुटीको मिश्रणबाट तयार पारिएको गाईको घ्यु हो । स्वर्णभस्म आयुर्वेद औषधी उद्योगमा परम्परागत विधिद्वारा उच्च क्यारेटको सुन जलाएर तयार पारिएको संशोधित वस्तु हो ।

निर्देशिकामा स्वर्णविन्दु प्राशन हरेक महिना एक पटक ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाउने उल्लेख छ । तर, नेपाल पिडियार्ट्रिक सोसाइटीले अभिभावक र चिकित्सकलाई एक वर्षमुनिका शिशुलाई ‘मह’ नखुवाउन र स्वर्णभस्मको ‘इम्युन बुस्ट’ दाबीबारे उच्च–गुणस्तरीय प्रमाण नआएसम्म सावधानी अपनाउन आग्रह गरेका छन् । 

नेपाल आयुर्वेद चिकित्सक संघले भने नेपाल पिडियार्ट्रिक सोसाइटीको विरोध अर्थहीन भएको दाबी गरेका छन् । संघले बुधबार विज्ञप्ति जारी गरेर आयुर्वेदको प्राचीन ग्रन्थ (करिब ४ हजार वर्ष पुरानो) ‘काश्यप संहिता’ मा स्वर्णविन्दु प्राशन उल्लेख रहेको र स्वर्ण प्राशनले बालबालिकाको शारीरिक, मानसिक र रोग प्रतिरोधक क्षमताको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख छ ।

प्रशान्त

Link copied successfully