नेपाल पिडियाट्रिक सोसाइटीले वैज्ञानिक प्रमाणीकरण नभएको ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रमले राज्यको लगानी मात्र खेर जाने र मन्त्रालयले नै कार्यक्रमका रुपमा सञ्चालन गर्दा ठूलो संख्यामा बालबालिकामा नकारात्मक असर पर्ने जोखिम रहेकाले यस अभियानलाई तत्काल रोक्नुपर्ने बताएको हो ।
What you should know
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै ठोस वैज्ञानिक आधारबिना नै बालबालिकालाई खुवाउन सुरू गरेको स्वर्णविन्दु प्राशन कार्यक्रम विवादित बनेको छ ।
नेपाल पिडियाट्रिक सोसाइटीले बालबालिकालाई खुवाउने ‘स्वर्णभस्म’ले ‘इम्युन बुस्टर’ गर्ने बारेमा हालसम्म कुनै पनि वैज्ञानिक प्रमाण उपलब्ध नभएको भन्दै तत्काल ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रम स्थगन गर्न माग गरेका छन् । बालरोग विशेषज्ञ चिकित्सकहरूको समाजले नै विज्ञप्ति जारी गरेर आपत्ति जनाएपछि बालबालिकालाई खुवाउने कि नखुवाउने भन्ने बारेमा अभिभावकहरू पनि दुविधामा परेका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले हालै ‘बालबालिकाका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका, २०८२’ निर्देशिका स्वीकृत गरी धनगढीका एक बालकलाई स्वर्णभस्म खुवाएर ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रम औपचारिक रूपमा सुरु गरेका थिए । मन्त्रालयले मुलुकभर अभियान चलाउन यस आर्थिक वर्षमा ८० लाख रुपैयाँ बजेट पनि विनियोजन गरेको छ ।
‘स्वर्णविन्दु प्राशन’ स्वर्ण भस्म, मधु (मह) र ब्राम्ही घृत मिलाएर शास्त्रीय विधिद्वारा तयार पारिने अर्धतरल सम्मिश्रण हो । ब्राम्ही घृत घोडताप्रे जस्ता जडीबुटीको मिश्रणबाट तयार पारिएको गाईको घ्यु हो । स्वर्णभस्म आयुर्वेद औषधि उद्योगमा परम्परागत विधिद्वारा उच्च क्यारेटको सुन जलाएर तयार पारिएको संशोधित वस्तु हो ।
निर्देशिकामा स्वर्णविन्दु प्राशन हरेक महिना एक पटक ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाउने उल्लेख छ । तर, नेपाल पिडियाट्रिक सोसाइटीले अभिभावक र चिकित्सकलाई एक वर्षमुनिका शिशुलाई ‘मह’ नखुवाउन र स्वर्णभस्मको ‘इम्युन बुस्ट’ दाबीबारे उच्च–गुणस्तरीय प्रमाण नआएसम्म सावधानी अपनाउन आग्रह गरेका छन् । सोसाइटीले स्वर्णभस्मको सार्वजनिक रुपमा प्रयोग गर्ने भएमा अध्ययन अनुसन्धानपश्चात सुरक्षित प्रमाणित भएमा मात्रै खुवाउन अभिभावक र चिकित्सकहरूलाई अनुरोध गरेका छन् ।
नेपाल पिडियाट्रिक सोसाइटीले हालै जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘बालबालिकालाई स्वर्णभस्म (स्वर्णकल्प) खुवाउने सरकारी अभियान, ‘इम्युन बुस्टर’ को रूपमा वितरण गर्ने बारेमा औपचारिक असहमति प्रकट गर्दछ । हालसम्म उपलब्ध वैज्ञानिक प्रमाण, बाल सुरक्षा, गुणस्तर र जोखिम तथा नियामक स्पष्टता अपर्याप्त देखिएको हुँदा शिशुमा स्वर्णकल्पबाट ‘प्रतिरक्षा प्रणालीको वृद्धि’ हुने आधारको अभाव, हेबी मेटल (गोल्ड) सम्बन्धी जोखिम र औषधी व्यवस्था विभाग (डीडीए) को दर्ता/ब्याच परीक्षण सार्वजनिक नभएका कारण उक्त अभियान अघि नबढाउन सरकारसमक्ष आग्रह गर्दछ ।’
त्यस्तै, सोसाइटी भनेको छ, ‘क्लिनिकल प्रमाणको अभाव, हेबी मेटल (गोल्ड) बाट हानीको सम्भावना स्पष्ट देखिन सक्ने, केही आयुर्वेदिक उत्पादनमा सिसा (लीड), पारो इत्यादि भेटिने गरेको र बाल– शिशा विषाक्तता (लिड प्वाइजिङ) का घटना पनि दर्ता भएको र डीडीएको दर्ता प्रमाणपत्र नम्बर, वैधता, संकेत सार्वजनिक नभएसम्म स्वर्णविन्दु प्राशन दिन नहुने सम्पूर्ण बालचिकित्सकहरुको मत छ ।’
नेपाल पिडियाट्रिक सोसाइटीका सचिव डा. रामहरी चापागाईंले वैज्ञानिक प्रमाणीकरण नभएको ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रमले राज्यको लगानी मात्र खेर जाने र मन्त्रालयले नै कार्यक्रमका रुपमा सञ्चालन गर्दा ठूलो संख्यामा बालबालिकामा नकारात्मक असर पर्ने जोखिम रहेकाले यस अभियानलाई तत्काल रोक्नुपर्ने बताए । ‘विभिन्न अध्ययन र अनुसन्धानले पनि स्वर्णविन्दु प्राशनले बालबालिकाको बौद्धिकता अभिवृद्धि मस्तिष्क, स्मरणशक्ति वृद्धि र बोली राम्रो हुने तथ्य फेला परेको छैन,’ उनले भने ।
सोसाइटीले बाल स्वास्थ्य बलियो बनाउन स्वर्णविन्दु प्राशनमाभन्दा पनि स्तनपान, समयमै खोप, भिटामिन–ए, पखालामा जिंक, उचित पोषण र समयमै उपचार प्रणालीमा लगानी गर्न आग्रह गरेको छ ।
नेपाल आयुर्वेद चिकित्सक संघले भने नेपाल पिडियाट्रिक सोसाइटीको विरोध अर्थहीन भएको दाबी गरेका छन् । संघले बुधबार विज्ञप्ति जारी गरेर आयुर्वेदको प्राचीन ग्रन्थ (करिब ४ हजार वर्ष पुरानो) ‘काश्यप संहिता’ मा स्वर्णविन्दु प्राशन उल्लेख रहेको र स्वर्ण प्राशनले बालबालिकाको शारीरिक, मानसिक र रोग प्रतिरोधक क्षमताको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ– 'पूर्वीय सभ्यतामा नवजात शिशु शुभकार्यमा धीउ र मह चटाउने प्रचलन पनि छ । आयुर्वेदको प्राचीन अभ्यास स्वर्णविन्दु प्राशनले बालबालिकाको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउँदछ । साथै यो एक असल सुरक्षित प्रभावकारी अभ्यास रहेको हालसम्मको उपलब्ध प्रमाणहरूको अभिलेखमा देखिन्छ ।
नेपाल आयुर्वेदक चिकित्सक संघका अध्यक्ष एवम् आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवले बालचिकित्सकले एकतर्फी विरोध गरेर आयुर्वेद क्षेत्रमा हालसम्म भएका अनुसन्धान, परम्परा, मूल्यमान्यता र संस्कृतिलाई बेवास्ता गर्न नमिल्ने दाबी गरे । ‘स्वर्णभस्मले बालबालिकाको प्रतिरक्षा प्रणालीमा सकारात्मक भूमिका खेल्ने विभिन्न अध्ययनले बताएका छन् । मौलिक चिकित्साको जगेर्ना गर्नु आधुनिक चिकित्साको पनि दायित्व हो,’ उनले भने, ‘हामी स्वर्णविन्दु प्राशनको असरप्रति सचेत छौं ।’
उनको दाबी अनुसार स्वर्णभस्म भारत, श्रीलंकालगायत विभिन्न देशका राष्ट्रिय आयुर्विज्ञान संस्थान, आयुर्वेद शिक्षण अस्पतालमा प्रचलित रहेको छ । ‘यसले बच्चाको रुग्णता दर घटेको, स्मरणशक्ति वृद्धि भएको पाइएको र हालसम्म कुनै प्रकारको असर देखिएको छैन,’ उनले भने ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रादेशिक आयुर्वेद चिकित्सालय दाङबाट २०७९ देखि स्वर्णविन्दु प्राशन कार्यक्रम चलाउँदै आएको बताए । ‘हालसम्म झन्डै ५० हजार जनालाई स्वर्णविन्दु दिइसकेका छौं,’ उनले भने, ‘अहिले निर्देशिका बनाएर वितरण प्रणाली र यसको गुणस्तरलाई थप व्यवस्थित बनाउन मात्र खोजेका हौं ।’
स्वर्णविन्दु प्राशन के हो ?
स्वर्ण भस्म, मधु (मह) र ब्राम्ही घृत मिलाएर शास्त्रीय विधिद्वारा तयार पारिने अर्धतरल सम्मिश्रण हो । ब्राम्ही घृत घोडताप्रे जस्ता जडिबुटीको मिश्रणबाट तयार पारिएको गाईको घ्यु हो । स्वर्णभस्म आयुर्वेद औषधी उद्योगमा परम्परागत विधिद्वारा उच्च क्यारेटको सुन जलाएर तयार पारिएको संशोधित वस्तु हो ।
स्वर्णविन्दु प्राशन कसरी तयार पारिन्छ ?
स्वर्णविन्दु प्राशन तयार पार्न स्वर्णभस्म ३ मिलिग्राम, मह १ मिलिग्राम र ब्राम्ही घृत २ मिलिग्राम प्रयोग हुन्छ । त्यसपछि खल्व यन्त्रमा स्वर्ण भस्म राखेर त्यसमा मह हालेर हल्का रुपमा तीन मिनेटसम्म घोट्ने अनि ब्राम्ही घृत थपेर मिश्रण तयार गरिन्छ । यसरी तयार गरिएको औषधीलाई हावा नछिर्ने काँचको बोतलमा राखिन्छ । र तयार पारिएको २४ घन्टाभित्र प्रयोग गर्न उत्तम मानिएको छ ।
स्वर्णविन्दु प्राशन कुन उमेर समुहकालाई कति पटक खुवाउनुपर्ने हो ? र अपनाउनुपर्ने सावधानी के हुन् ?
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई मासिक एक पटक गरेर वार्षिक १२ पटक खुवाइन्छ । यो निःशुल्क वितरण हो । ज्वरो, झाडा पखाला, आउँ, रुघाखोकी, सर्दीमर्की भएका बालबालिकालाई खुवाउन निषेध गरिएको छ । खाली पेटमा खाँदा उपयुक्त मानिएको छ । सेवनपछि बालबालिकालाई ३० मिनेटसम्म खाना नदिन र वाकवाकी, बान्ता, एलर्जी जस्ता कुनै प्रतिकूल असर देखिए तुरुन्त रिपोर्ट गर्ने सुझाएको छ । एलर्जी वा कमजोर प्रतिरक्षा भएका बालबालिकाका अभिभावकलाई चिकित्सकसँग सल्लाह गरेर मात्र प्रयोग गर्न भनिएको छ ।
स्वर्णविन्दु प्राशन खुवाउँदा के फाइदा हुन्छ ?
आयुर्वेदको ग्रन्थ एवम् शास्त्र अनुसार बालबालिकाको शारीरिक, बौद्धिक, मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । स्मरणशक्ति बढाउन, बोली स्पष्ट बनाउन पनि मद्दत गर्छ ।
यसमा सरकारले कति लगानी गर्दैछ । एक जना बालबालिकालाई एक पटक स्वर्णभस्म खुवाउँदा सरकारको कति खर्च पर्छ ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वर्णविन्दु प्राशन अभियान चलाउन चालु आर्थिक वर्षका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ८० लाख रुपैयाँले १० लाख थोपा तयार हुन्छ । १ थोपा बराबर ०.०५ मिलिग्राम हुन्छ । ६ महिनादेखि १ वर्षसम्मका लागि एक थोपा, १ देखि २ वर्षसम्मका लागि २ थोपा, २ देखि ५ वर्षसम्मका लागि ४ थोपा खुवाइन्छ । एक थोपा बराबर ८ रुपैयाँ मूल्य पर्छ ।
कार्यक्रम सञ्चालन हुने स्थान
दाङ, धनगढी र झापाको प्रादेशिक आयुर्वेद चिकित्सालय, त्रिवि आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुर, आयुर्वेद चिकित्सालय नरदेवी, राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ, गण्डकी आयुर्वेद अस्पताल पोखरा, धौलागिरि आयुर्वेद अस्पताल बागलुङ, प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय तनँहु, लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल, राप्ती आयुर्वेद चिकित्सालय दाङ, बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र गुलरिया, प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेत छन् ।
त्यस्तै, दैलेख र जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्र, पर्सा, धनुषा, सर्लाही, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, नुवाकोट, मकवानपुरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा खुवाउँदै छ ।
