१७ वर्षदेखि राहतको पर्खाइमा कोशी बाढीपीडित

सरकारले घोषणा गरेबमोजिम न जग्गा दियो, न राहत नै, पहिले खेती किसान गरेर जीवनयापन गरिरहेकाहरू अहिले ज्याला–मजदुरीबाट गुजारा चलाउँदै

भाद्र १३, २०८२

एलिना राई

Koshi flood victims have been waiting for relief for 17 years

What you should know

धरान — सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेर आएको बाढीले विनाश गरेको १७ वर्ष बित्यो । २ भदौ २०६५ मा आएको बाढीले सुनसरी र सप्तरीमा ठूलो धनजनको क्षति भएको थियो । तर यतिका वर्षसम्म पीडितले न सरकारले भनेबमोजिम जग्गा पाएका छन् न घोषणा गरिएको सहयोग नै ।

बाढीले सुनसरीका श्रीपुर, हरिपुर र पश्चिम कुशाहाका ७ हजार ५ सय ६३ परिवारको उठीबास लागेको थियो । ६ हजार ८ सय बिघा बालुवाले पुरिदिएको थियो । अझै १३ सय बिघामा बालुवा छ, जहाँ खेती लगाउन सम्भव छैन । कोशी बाढीपीडित संघर्ष समितिका अध्यक्ष पञ्चनारायण मण्डल बाढीपीडितले राहत पाउने अझै निश्चि नरहेको बताउँछन् । ‘लहलह धान फल्ने खेतमा बालुवाको थुप्रो छ । त्यही थुप्रोमाथि बाढीपीडितहरू तरकारी र तरबुजा खेती गरेर गुजारा चलाउन बाध्य छन्,’ उनी भन्छन् । 

१७ वर्षअघिको बाढी सम्झँदा सुनसरीको तत्कालीन पश्चिम कुशाहा–४ का मोहमद नूर अहिले पनि झस्कन्छन् । कोशीको बाँध फुटेर बस्तीमा बाढी पसेको केहीबेरमै उनको ५ बिघा जमिन बगर बन्यो । अहिले पनि खेतको बालुवा उस्तै छ । पहिले उनको खेतमा झन्डै तीन सय मन धान फल्थ्यो । अहिले धान रोप्ने स्थिति छैन । उनी अहिले खेतमा तरबुजा र लहरे तरकारी खेती गर्दै आएका छन् । सिँचाइ अभावले तरकारी खेती सप्रिन सकेको छैन । नूर भन्छन्, ‘सरकारले बालुवा हटाइदिने भने पनि हटाइदिएको छैन । तरकारी र तरबुजा खेतीबाट हात लाग्ने रकमले जेनतेन परिवारको गुजरा चल्दै आएको छ ।’ 

स्थानीय नरेश मुखिया पुरानो जनजीवनमा फर्कन सकेका छैनन् । पहिला खेती किसान गरेर जीवनयापन गरिरहेका मुखिया अहिले ज्याला–मजदुरी गर्छन् । सुनसरीको कोशी गाउँपालिका–७ हरिनगर बस्ने मुखियाको कुनै समय आफ्नै घरजग्गा थियो । अहिले त्यो जमिनमा नदी बगिरहेको छ । ५५ वर्षका नरेशको परिवारमा ७ जना छन् । अहिले परिवारको गुजारा गर्न धेरै कठिन हुने गरेको उनले सुनाए । उनले भने, ‘आज १७ वर्ष बितिसक्दा पनि मेरो जीवन पहिलाको जस्तो हुन सकेको छैन, बरु झन्झन् बत्तर–पत्थर हुँदै गएको छ । सरकारले घर बनाइदिने भनेर आश्वासन पनि दिएको थियो, तर केही पनि दिएन ।’ 

Koshi flood victims have been waiting for relief for 17 yearsस्थानीय सूर्यनारायण सदा १७ वर्ष अगाडिको घटना सम्झँदै भन्छन्, ‘त्यतिबेला २० दिन लगातार पानी परेको थियो । अचानक कोशी बाँध फुटेको सुनेपछि हामी त्यहाँबाट राति नै भाग्यौं । ज्यान त जोगायौं तर सम्पत्ति बचाउन सकिएन ।’ अरू ठाउँ पनि जग्गा हुनेहरू बसाइँ सरेर गएको तर आफूहरू सुकुम्बासीको जस्तै जीवनबाट माथि उठ्न नसकेको उनी बताउँछन् । ‘सरकारले सुकुम्बासी क्षेत्रमा घर, विद्यालय, स्वास्थ्य चौकी बनाइदिने भनेको थियो, अझैसम्म केही गरेन । १७ साल फेरियो, हाम्रो जीवन फेरिएन,’ उनी भन्छन् । 

कोशीको बाढीबाट त्यतिबेला विस्थापित भएकाहरू अहिले रोजगारीका लागि भारतको बिहार, पञ्जाव, गुजरातलगायत सहरतिर जाने गरेका छन् । खेतीको समयमा भारतमा काम पाउने भएकाले आफू पनि रोजगारीका लागि भारतका विभिन्न ठाउँमा जाने, आउने गरिरहेको सदाले बताए । 

मोहमद उजिर मन्सुर १२ बिघामा असोजमा धान भित्र्याएर गहुँ खेती गर्थे । धान र गहुँबाट खर्च कटाएर वार्षिक सरदर १० लाख रुपैयाँ आम्दानी हुन्थ्यो । ‘तीन लाख रुपैयाँ खर्च गरेर ६ बिघामा बालुवा हटाएँ तर त्यसमा पहिलाको तुलनामा आधा पनि अन्न फल्दैन,’ उनले भने ।

कोशी बाढीपीडित संघर्ष समितिका अध्यक्ष मण्डलका अनुसार अति प्रभावित रातो एरियामा ३६ सय बिघा, मध्यम पहेँलो एरियामा २२ सय बिघा र तेस्रो हरियो एरियामा १ हजार बिघा खेतमा बाढीका कारण बालुवा भरिएको थियो । त्यस बेला तत्कालीन सरकारले सुनसरी जिल्ला दैवीप्रकोप उद्धार समितिको खातामा १ अर्ब ६८ करोड रुपैयाँ निकासा गरेको थियो । त्यसमध्ये १ अर्ब ३४ करोड रुपैयाँ बाँडेर बन्द गरिएको थियो । सरकारले वितरण गर्दागर्दै रोकेपछि आधाभन्दा बढीले राहत पाएका छैनन् । 

पीडित सबै परिवारलाई सरकारले तत्काल २० हजार रुपैयाँ राहत र घर बनाउन ३० क्यूफिट काठको व्यवस्था गर्ने र दुई कट्ठा जमिन दिने घोषणा गरेको थियो । पीडितले त्यतिबेला २० हजार रुपैयाँका दरले नगद राहत पाए । संघर्ष समिति अध्यक्ष मण्डलले घर पूर्णरूपमा क्षति भएका ३ हजार ७ सय ७० परिवारमध्ये १ हजार ९ सय ७० परिवारले मात्रै काठ पाएको जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा १ हजार ४ सय ३३ परिवार सुकुम्बासी थिए । उनका अनुसार ९ सय ५ जनाले दुई कट्ठा जमिन पाए । बाँकीले अहिलेसम्म पाएका छैनन् । 

अध्यक्ष मण्डलका अनुसार त्यो समय सरकारले नदीले काटेर लगेको र बालुवा पाँच फिट पुरेको रातो एरियाको खेतको प्रतिबिघा दुई लाख रुपैयाँ, बालुवाले कम पुरेको पहेँलो क्षेत्रको प्रतिबिघा एक लाख रुपैयाँ र बालीनाली बगाएको हरियो क्षेत्रको प्रतिबिघा ५० हजार रुपैयाँ क्षतिपूर्ति दिएको थियो । मूल भँगालोको क्षेत्रमा २ लाख ५० हजार रुपैयाँ बिघाका दरले क्षतिपूर्ति दिइएको थियो । त्यतिबेला नौ महिनाका लागि रासन दिने भनिएकामा ६ महिनाको मात्र दिइएको पनि मण्डलले जानकारी दिए । रातो एरियाका जग्गावालालाई दुई बालीको क्षतिपूर्ति २९ हजार २ सय प्रतिबिघा दिने भनिए पनि १४ हजार मात्र दिएको अध्यक्ष मण्डलले बताए । 

कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी बाढीपीडितलाई राहत दिन स्थानीय सरकारले केही गर्न सकिने अवस्था नभएको बताउँछन् । उनी भन्छन्, ‘स्थानीय सरकारसित राहत दिन सक्ने बजेट नै छैन । स्थानीय सरकारले कुरा माथि पुर्‍याउने मात्र हो ।’

एलिना राई एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully