वीरगन्ज र पोखरियामा १५२ हैजा संक्रमित भेटिए, २२८ बिरामी उपचारमा र ४४७ डिस्चार्ज भएका छन्।
What you should know
पर्सा — झाडापखाला तथा हैजाको प्रकोप फैलिएको पर्सामा वीरगन्ज महानगर क्षेत्रमा हैजा संक्रमणको दर स्थिर रहेको छ। बिहीबार साँझ ६ बजेदेखि शुक्रबार बिहान ११ बजे सम्मको १७ घण्टाको अवधिमा यहाँ हैजा पोजेटिभको संख्या बढेको छैन। बिहीबार साँझ हैजा पोजेटिभको संख्या १ सय ४३ थियो भने १६ घण्टा पछि पनि हैजा पोजेटिभको संख्या एउटा पनि थपिएको छैन।
वीरगन्ज महानगरपालिकाको कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, वीरगन्ज महानगर क्षेत्रमा मात्रै हैजा संक्रमितको संख्या १ सय ४३ पुगेको हो। तीमध्ये ६८ जना यहाँस्थित विभिन्न अस्पतालमा उपचाररत छन्। कूल संक्रमितमध्ये ७५ डिस्चार्ज भइसकेका छन्। उता पोखरियामा पनि ९ हैजा संक्रमित पुष्टि भइसकेका छन्। यसरी वीरगन्ज र पोखरियामा समेत गरी पर्सा जिल्लामा कूल हैजा संक्रमितको संख्या १ सय ५२ पुगेको छ।
हालसम्म वीरगन्ज महानगर र पोखरिया नगरपालिकामा झाडापखाला र हैजाका ६ सय ७६ बिरामी अस्पतालमा भर्ना भएकोमा ४ सय ४७ डिस्चार्ज भएका छन् भने संक्रमित सहित २ सय २८ उपचाररत छन्।
जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार, हालसम्म भएको हैजाको पुष्टि आरडीटी परीक्षणबाट भएको हो। संक्रमित पुष्टि भएकाहरू अधिकांश वीरगन्ज महानगरपालिका वडा नं. ३, ११, १२, १३ र १६ का हुन्।
नारायणी अस्पतालमा ४९ र तराई अस्पतालमा ४६ जना हैजा संक्रमित पुष्टि भएका छन्। नेशनल मेडिकल कलेजमा २०, पोखरिया अस्पतालमा ९ जना, वीरगन्ज हेल्थ केयरमा ७ जना हैजा पुष्टि भएका छन्। भवानी र मंगलम प्याथोलोजीमा ४/४ जना संक्रमित पुष्टि भएका छन्। प्रभु, अली अर्थो र एडभान्स मेडिकेयर अस्पतालमा २/२ जनामा हैजा संक्रमण पुष्टि भएको छ। नारायणी सेन्टर, नेपाल इन्डो, नीलकण्ठ, नेपाल मेडिसिटी, बयोधा, सर्वोत्तम, गण्डक अस्पताल र बगही स्वास्थ्य केन्द्रमा पनि १/१ जना संक्रमित पुष्टि भएका छन्।
पोखरिया नगरपालिकास्थित पोखरिया अस्पतालमा भर्ना भएका १२ जना बिरामीमध्ये ९ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ। नौमध्ये ३ जना डिस्चार्ज भई घर गईसकेका छन्। ६ अझै पनि उपचाररत छन्। जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार पोखरियामा रहेका संक्रमित पनि वीरगन्ज महानगर क्षेत्रमै बसेर उपचारका लागि पोखरिया गएको पाइएकाले हैजा संक्रमण अझै ग्रामीण भेग तथा सदरमुकाम बाहिर पुगेको छैन। उनका अनुसार, पोखरिया, बिन्दवासिनी, बहुदरमाई लगायतका नगरपालिका तथा गाउँपालिकामा घर भई वीरगन्जमा डेरा गरी बस्नेहरू नै रहेका छन्।
