आर्यघाटबाट शवको हड्डी किनबेच प्रकरण : धरौटी बुझाएर छुटे चारै जना 

शवको हड्डी निकालेर किनबेच गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । पक्राउ परेका चार जनालाई धर्मसम्बन्धी कसुरमा मुद्दा बिहीबार नै मुद्दा दर्ता गरिएको हो ।

भाद्र १३, २०८२

कान्तिपुर संवाददाता

Case of buying and selling dead body bones from Aryaghat: Four people escaped after posting bail

What you should know

काठमाडौँ — जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी निकालेर किनबेच गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । पक्राउ परेका चार जनालाई धर्मसम्बन्धी कसुरमा मुद्दा बिहीबार नै मुद्दा दर्ता गरिएको हो ।

मुद्दा दर्ता हुनेहरूमा सर्लाहीको लालबन्दी नगरपालिका–२ घर भएका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेको मण्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद भनिने जीवनाथ ढकाल, उदयपुरको कटारी नगरपालिका–८ का २४ वर्षीय विनायक मैनाली र सप्तरीको वलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादव छन् । 

प्रहरी वृत्त गौशालाले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरूविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो  । न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले बिहीबार नै धरौटीमा उनीहरूलाई रिहा गरिएको छ । सबै जना १० हजार जनही बुझाएर रिहा भएको जिल्ला अदालतले जनाएको छ।    

राम शाहीको मृत्यु भएपछि २३ साउनमा सद्गद गर्न पशुपति लगिएको थियो । आर्यघाट सेवा केन्द्रबाट जिवनाथ ढकाल र उनका सहयोगी विनायक मैनाली सद्गदका लागि खटिएका थिए । आधा शव जल्दै गरेको अवस्थामा टाउकाको हड्डी निकाले बिक्री गरेका थिए ।  

मुलुकी फौजदारी अपराध संहिताको धर्मसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो ।  रामनन्दन, जीवनाथ र विनायकविरुद्ध संहिताको दफा १५७ (१) को कसुर गरेको भन्दै मुद्दा दर्ता गरिएको छ । जसअनुसार कसैले सनातनदेखि अपनाउँदै वा चली आएको धार्मिक रीति–स्थितिमा जानीजानी बाधा पुर्‍याउन नहुने उल्लेख छ । यस्तो कार्य गर्नेलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

त्यसैगरी मिश्रीलाललाई भने यसैको मतियारको रुपमा प्रस्तुत गरिएको छ । जसअनुसार मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने उल्लेख छ ।

कान्तिपुर

Link copied successfully