नुवाकोटस्थित पञ्चकन्या गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराधन राईले अनुमतिबिना नै 'नुवाकोट एक्सप्रेस' नामक अनलाइन सञ्चारमाध्यमले विज्ञापन छापेको भन्दै गत जेठ २९ गते ५ लाख रुपैयाँको बिल पेस गरेको बताए ।
What you should know
काठमाडौँ — पत्रकारले आफूखुसी विज्ञापन प्रकाशन गरेर गाउँपालिकासँग रकम मागेको पाइएको छ । 'नुवाकोट एक्सप्रेस' नामक अनलाइन सञ्चारमाध्यमले नुवाकोटको पञ्चकन्या गाउँपालिकाको अनुमतिबिना नै विज्ञापन छापेर अवैध रुपमा बिल पेस गरेको पाइएको हो ।
पञ्चकन्या गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराधन राईका अनुसार नुवाकोट एक्सप्रेसले गत जेठ २९ गते ५ लाख रुपैयाँको बिल पेस गरेका हुन् । नुवाकोट एक्सप्रेसका सम्पादक/प्रकाशक हुन्, उमेशप्रसाद खनाल ।
‘हामीले उहाँलाई विज्ञापन प्रकाशन गर पनि भनेका होइनौं । उहाँले यसै छाप्नुभएछ,’ प्रमुख प्रशासकीय अधिकृत राईले भने, ‘भन्दै नभनेको विषयमा एक्कासी ५ लाखको बिल आयो । त्यो कसरी भुक्तानी गर्न मिल्छ ?’
यही विषयलाई लिएर नेपाल पत्रकार महासंघ नुवाकोट शाखाले पनि विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा नुवाकोट एक्सप्रेसले आधारहिन भुक्तानी माग गरेको उल्लेख छ । महासंघ नुवाकोटका अध्यक्ष नवराज सुवेदीका अनुसार नुवाकोट एक्सप्रेसले समाचारलाई बार्गेनिङको माध्यम बनाएको बताए । उनले भने, ‘पत्रकारले अनुमति बिना र विज्ञापन नै प्रकाशित नगरी भुक्तानी माग्नु गर्नु गलत हो । त्यहीमाथि उहाँले पान बिलमा ५ लाख रुपैयाँको माग गर्नुभएको रहेछ । त्यसैले हामीले त्यस्तो कार्यको विरोध गर्दै विज्ञप्ति निकालेका हौं ।’

नुवाकोट एक्सप्रेसका सञ्चालकसमेत रहेका उमेश खनाल भने गाउँपालिकाको सल्लाहमा नै विज्ञापन प्रकाशन गरेको बताउँछन् । ‘गाउँपालिकासँग सहमतिमा नै मैले विज्ञापन छापेको हुँ । तर अहिले हैन भनिरहनुभएको हो, ’ उनले भने, ‘लिखित सहमति भएको होइन । पहिले पनि म विज्ञापन छापिरहन्थे । तर अघिल्लो वर्षदेखि नै भुक्तानी भएको छैन ।’
प्रमुख प्रशासकीय राईका अनुसार नुवाकोट एक्सप्रेसले बिल भुक्तानी नगरेको भन्दै गाउँपालिकाविरुद्ध समाचार लेखेर 'ब्ल्याकमेलिङ' पनि गरेको थियो । राईले भने, ‘त्यो पैसा दिने कुनै आधार नभएपछि हामीले उहाँलाई भुक्तानी दिएनौं । त्यही नदिएको भन्दै उहाँले गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ र म (प्रमुख प्रशासकीय)विरुद्ध झुटो समाचार पनि लेख्नुभयो ।’
नुवाकोट एक्सप्रेसका सञ्चालक खनाल भने राईले गलत व्याख्या गरेको दाबी गर्छन् । उनले भने, ‘मैले पैसाको लागि बिल दिएको जेठमा हो । अहिले आएर किन समाचार लेख्नु । उहाँहरुले गलत रुपमा बुझ्नुभएको हो । मैले समाचार त जुनसुकै बेलामा लेख्न पाउँछु नि ! प्रतिक्रिया न फोन गर्दा उठाउनुभएन ।’
