रास्वपा केन्द्रीय सदस्य पाँडेविरुद्ध विद्युतीय कारोबार कसुरमा मुद्दा दर्ता

पाँडेविरुद्ध १ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग गरेर जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दर्ता गरिएको हो ।

भाद्र १३, २०८२

कान्तिपुर संवाददाता

A case has been registered against Pandey, a central member of the RSVP, for the offense of electronic transactions

What you should know

काठमाडौँ — रास्वपा केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । 

अदालतमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार कसुर ऐनअन्तर्गतको कसुरमा पाँडेविरुद्ध अभियोग पत्र दर्ता भएको छ । इमेल र ह्वाट्सएपमार्फत चरित्रहत्या गरेको आरोपपछि साइबर ब्युरो पुगेका पाँडेलाई जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार कसुर ऐन, २०६३ को दफा ४७ (१) अन्तर्गतको कसुरमा १ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग गरेर जिल्ला अदालत काठमाडौंमा  अभियोग पत्र दर्ता गरिएको हो ।

अभियोगपत्रमा महिलाले आफ्नो छोरा साइन्स अध्ययन गर्न रुचि रहेकोले पाँडेसँग केही कुरा बुझौं भनी सुझाव लिनको लागि सम्पर्क गरेकोमा इमेल र ह्वाट्सएपमार्फत  विभिन्न अश्लील म्यासेज पठाई मानसिक यातना दिएको, अपमान गरी दु:ख  दिएको बताएकी छिन् । तर पाँडेले भने आफ्नो बयानमा २०६९ सालतिर नै जाहेरवाला महिलासँग आफ्नो श्रीमतीमार्फत चिनजान भई कहिलेकाहीँ पारिवारिक भेटघाटसमेत हुने गरेको बताएका छन् ।

पाँडेले असार २५ गते ती महिलाले बेलायतबाट आफू नेपाल आउन लागेको र भेट गरौं भनी अनुरोधसमेत गरेको बताएका छन् । श्रीमती नेपाल नभएको थाहा पाएपछि भेट्न बोलाउने गर्ने गरेको व्यवहार मन नपरेपछि म्यासेज गरेको बयानमा भनेका छन् । उनको इमेलबाट गएको म्यासेजमा शारीरिक सम्बन्ध राखेको कुराहरू समेत उल्लेख छ ।

प्रहरीसँगको बयानमा पाँडेले समेत आफूले ती महिलालाई म्यासेज पठाएको स्वीकार गरेका छन् ।  पाँडे अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको कर्मचारी तथा शिक्षा विज्ञसमेत हुन् ।  

कान्तिपुर

Link copied successfully