गत चैत ५ मा आईजीपी बनेका दीपक थापाको कार्यकाल साढे ५ महिनाको मात्र रह्यो । उनी पछि नेतृत्व सम्हाल्ने चन्द्रकुबेर खापुङको कार्यकाल पनि २ महिना ९ दिनको हुनेछ ।
What you should know
काठमाडौँ — नेपाल प्रहरीको ३२ औं महानिरीक्षकमा नियुक्ति पाएका चन्द्रकुबेर खापुङको कार्यकाल भने निकै छोटो छ । आफ्नो कार्यकालमा दीर्घकालीन प्रभाव हुने खालका योजना तर्जुमा गर्न पनि सेवा अवधिका कारण सम्भव देखिँदैन । प्रहरीको ७५ वर्षे इतिहासमा खापुङसहित ३२ जना नेतृत्वमा पुग्ने मौका पाएमा छोटो कार्यकालका हिसाबले केही आईजीपीहरुको नाम आउँछ ।
२००७ सालमा निरंकुश जहानियाँ राणा शासनको अन्त्य भएर प्रजातन्त्र बहाली भएसँगै नेपाल प्रहरीको जन्म भएको इतिहास छ । प्रजातन्त्रका पक्षमा लडेका ‘मुक्ति सेना’ र सरकारी सुरक्षाकर्मी (सेना)को टोलीलाई मिसाएर नेपाल प्रहरी संगठन स्थापना भएको थियो । नेपाली सेनाका तत्कालीन जर्नेल तोरण शमशेर राणालाई विसं २००७ चैत २८ मा नेपाल प्रहरीको प्रथम आईजीपीका रूपमा नियुक्त दिइयो । ३० चैत सम्म ३ दिन मात्रै उनी आईजीपी बने । तोरण शमशेरलाई ३ दिनमै हटाएर नरशमशेर राणालाई आईजीपी बनाइएको थियो । त्यसपछि २०५३ सम्मका आईजीपीहरुले २ वर्षदेखि ६ वर्षसम्म कार्यकाल आईजीपीमा बिताएको देखिन्छ सबैभन्दा कम १ वर्ष मुनी कार्यकाल भएका आईजीपीहरु भने २०५० पछि नियुक्ति पाएकाहरूमा पर्छन् ।
तोरण शमशेर राणापछि अच्युतकृष्ण खरेल २०५३ फागुनमा पहिलो कार्यकालका रूपमा ३६ दिन आईजीपी बने । खरेललाई आईजीपीबाट हटाएर एआइजी ध्रुवबहादुर प्रधानलाई नेतृत्वमा ल्याइयो । कांग्रेस र एमालेले आफू अनुकूलका व्यक्ति ल्याउन आईजीपी हटाउने र राख्ने खेल खेलेका थिए । खरेललाई हटाएर प्रधान ध्रुवबहादुर प्रधान २०५३ चैतदेखि मंसिरसम्म ८ महिना नेतृत्वमा रहेका थिए । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र बामदेव गौतम गृहमन्त्री रहेको राप्रपा–एमाले सरकारले प्रधानलाई आईजीपी बनाएर खरेललाई राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा सरुवा गरेको थियो ।
पछि सरकारको निर्णयविरुद्ध अदालत गएका खरेललाई चन्द सरकार हटेर कांग्रेसको समर्थनमा राप्रपाकै सूर्यबहादुर थापा प्रधानमन्त्री बनेपछि अघिल्लो सरकारको निर्णय बदर गरी खरेललाई पुनर्बहाली गरेको थियो । आईजीपी प्रधानलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरियो । त्यसपछि प्रधान पदबाट राजीनामा दिएर राप्रपाको राजनीतिमा लागेका थिए ।
छोटो कार्यकालका रूपमा २०६५ असोजमा हेमबहादुर गुरुङ आईजीपी बनेका थिए । उनको ५ महिना अवधि रह्यो । ०६५ असोज देखि फागुन सम्म उनी नेतृत्वमा रहे । अर्का तत्कालीन आईजीपी ठाकुर ज्ञवालीको पनि करिब ५ महिना मात्रै कार्यकाल रह्यो । उनी ३० वर्षे सेवा अवधिबाट अवकाशमा गएका थिए । २०७६ माघ २८ देखि असार २३ सम्म ५ महिना उनी प्रहरी नेतृत्वमा रहे । पछिल्लो पटक गत चैत ५ मा आईजीपीको जिम्मेवारी सम्हालेकामा दीपक थापा आउँदो भदौ १८ मा अवकाशमा जाँदै छन् । उनको कार्यकाल पनि साढे ५ महिनाको मात्रै रह्यो ।
अब थापापछि नेतृत्व सम्हाल्न लागेका खापुङको कार्यकाल पनि २ महिना ९ दिनको मात्रै हुने छ ।१ वर्षभन्दा कम कार्यकाल हुनेमा हालसम्म सात जना आईजीपी रहेकामा खापुङ तेस्रो कम कार्यकाल हुनेमा पर्छन् । छोटो कार्यकाल भएसँगै आईजीपीका योजना तथा लक्ष तय गरेर कार्यान्वयनमा लैजानलाई समय अभाव हुन्छ ।
त्यसैले खापुङ पछि सेवा अवधिका कारण नै आफ्ना लक्ष, सोच र योजनाअनुसार भन्दा पनि भएकै कामकारबाहीलाई विधि र प्रक्रियासम्मत बनाउन लाग्नु पर्ने देखिएको हो ।
