नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले बुधबार प्रहरी महानिरीक्षक दीपक थापालाई डीएनए परीक्षणका उपकरण हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ — अमेरिकाले अपराध अनुसन्धानमा महत्त्वपूर्ण मानिने डीएनए परीक्षणसम्बन्धी उपकरण अनुदानमा सहयोग गरेको छ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले बुधबार प्रहरी महानिरीक्षक दीपक थापालाई डीएनए परीक्षणका उपकरण हस्तान्तरण गरेका हुन् ।
अपराधको वैज्ञानिक अनुसन्धान एवं जैविक तथ्य/प्रमाणहरु संकलन गर्न डीएनए प्रविधि भरपर्दो र विश्वसनीय मानिन्छ । यस्ता उपकरण अभावमा प्रहरीका कतिपय जटिल अनुसन्धान मानवीय र बयानमुखी प्रमाणमा भरपर्नु पर्ने बाध्यता छ ।
पछिल्लो पटक कोरिया सरकारको सहयोगमा प्रहरीले साइबर ब्युरोको संरचना विकास गरेको छ । प्रविधियुक्त अनुसन्धानलाई प्रभावकारी बनाउन उपकरण र तालिमप्राप्त जनशक्तिसहित ब्युरोको संरचना भोटाहिटीबाट सामाखुसीमा सार्ने तयारी छ । सामाखुसीमा ब्युरोको अत्याधुनिक भवनसहितका संरचना कोरिया सरकारको सहयोगमा निर्माण भइसकेको छ ।
ब्युरोमै रहने गरी डीएनएका उपकरण बुधबार अमेरिकी राजदूत थम्पसनले महानिरीक्षक थापालाई हस्तान्तरण गरेका हुन् । सामाखुसीमा प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला सञ्चालनमा छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार अमेरिकाले ‘कम्बाइन डीएनए इन्डेक्स सिस्टम’ (सीओडीआइएस), डीएनए सफ्टवेयर, ‘रेडियन एटमोस्फेरिक प्रेसर सोलिड्स एनालाइसिस प्रोव (आरएपीएसएनपी), मास स्पेक्ट्रोमिटर र ड्रग डिटेक्सन इन्स्ट्रुमेन्टसहितका उपकरण सहयोग गरेको हो ।
प्रहरी प्रधान कार्यालयले प्राप्त उपकरणहरू अपराध अनुसन्धानलाई वैज्ञानिक र प्रमाणमुखी बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने जनाएको छ । डीएनएले जैविक विवरणहरु भण्डारण गर्छ । प्रहरीले आफूसँग डीएनएसम्बन्धी उपकरण अभावमा कतिपय अपराधका घटनामा भारतसहित विभिन्न देशमा लगेर पनि परीक्षण गर्ने गरेको छ ।
