कविर सत्संग आश्रम ट्रष्टको भवन उद्घाटन

आश्रम बागमती प्रदेश, काठमाडौं महानगरपालिका, सहयोगी र दाताहरुको संयुक्त लगानीमा निर्माण भएको हो ।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

Inauguration of building of Kavir Satsang Ashram Trust

What you should know

काठमाडौँ — उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मध्यबानेश्वरमा नवनिर्मित कविर आश्रम सत्संग ट्रष्ट नेपालको भवन उद्घाटन गरेका छन् । बिहीबार भवन उद्घाटन गर्दै मन्त्री सिंहले आश्रम सत्संग गर्ने स्थानका रुपमा निर्माण भएको बताए ।

समाजका विकृति–विसंगति र अनावश्यक रूपमा भड्किने मनलाई नियन्त्रण गर्ने प्रभावकारी माध्यम सत्संग रहेको भन्दै उनले सत्संगतले मनलाई एकाग्र र संयमित बनाउन मद्दत गर्ने बताए । कविर आश्रमले समाजका नकारात्मक पक्षलाई नियन्त्रण गर्न पनि सघाउने उनको भनाइ थियो ।

बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठले धार्मिक र सांस्कृतिक महत्व बोकेका पूर्वाधार निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको उल्लेख गरे । सम्पदा जोगाउने दायित्वका रुपमा सरकारले आश्रम निर्माणमा पहल गरेको उनले बताए । 'कविर आश्रम सन्त, महागुरुका लागि सत्संग गर्न महत्वपूर्ण स्थल हो,' उनले भने, 'सत्संगलाई गहिराइमा गएर बुझ्दा यसको महत्व धेरै छ, सत्य र असत्य बुझ्नु नै सत्संग हो ।'

काठमाडौं महानगरपालिका-१० का अध्यक्ष रामकुमार केसीले आश्रमलाई थप आर्थिक, भौतिक सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा आश्रम ट्रष्टका संरक्षक आदर्श दासले भवन निर्माणमा सबैको सहयोग र मायाले सम्भव भएको बताए । पत्रकार रामहरि शाही समुन्द्रीले बजारमा उक्साउने र अनावश्यक हौसाउने प्रवृत्ति चलिरहेको भन्दै सादकी र सरल जीवन जिउन कविरको शिक्षा अनुसरण गर्नुपर्नेमा जोड दिए । यसबाट अहिंसा, सरलता, मानवताको सन्देश समाजमा जाने उनले विश्वास व्यक्त गरे ।

ट्रष्टका अध्यक्ष विष्णु केसीले आश्रम बागमती प्रदेश, काठमाडौं महानगरपालिका, सहयोगी र दाताहरुको संयुक्त लगानीमा निर्माण गरिएको जानकारी गराए । कार्यक्रममा सहयोगी र दाताहरुलाई सम्मानसमेत गरिएको थियो ।

कान्तिपुर

Link copied successfully