नयाँ राष्ट्रिय युवा नीतिमा युवाको उमेर १८-३५ कायम

यस नीतिले युवालाई स्वस्थ, शिक्षित र उद्यमशील बनाउँदै राष्ट्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

In the new National Youth Policy, the age of youth remains 18-35

What you should know

काठमाडौँ — राष्ट्रिय युवा नीति अनुसार अब नेपालमा युवाको उमेर १८ देखि ३५ वर्ष कायम गरिएको छ । हालै मन्त्रिपरिषद्बाट स्वीकृत नीति अनुसार युवाको उमेर १८–३५ हुने भएको हो । यसअघि क्रियाशील रहेको राष्ट्रिय युवा नीति -२०७२ अनुसार युवाको उमेर १६-४० रहेको थियो ।

युवा नीतिले ‘युवालाई सक्षम र जिम्मेवार बनाई राष्ट्र निर्माणमा युवाको सार्थक सहभागिता र भूमिका बढाउने’ विषयलाई मूल ध्यय(मिसन) बनाइएको छ । यसैगरी युवाको सर्वाङ्गीण विकास गर्नु, राज्यको विकासमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु र राष्ट्रभाव भएको सदाचारी एवम् सुसंस्कृत युवा तयार गरी समुन्नत राष्ट्र निर्माणमा योगदान गर्नुलाई मुख्य लक्ष्य किटान गरेको छ ।

परिमार्जित राष्ट्रिय युवा नीतिमा भनिएको छ, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसंख्यालाई युवा मानिनेछ ।’

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाका नयाँ माग, चाहाना र आवश्यकतालाई सम्बोधन गर्न नयां नीति ल्याइएको बताए । बस्नेतले भने, ‘राष्ट्रिय रुपमा बालबालिका ऐनले १८ वर्षसम्मकालाई बालबालिका मानेको र अन्तर्राष्ट्रिय परिवेशलाई समेत मध्यनजर गरेर युवाको नयाँ परिभाषा गरिएको हो ।’ 

नयाँ नीतिले ‘स्वस्थ, शिक्षित, सकारात्मक सोचयुक्त, नैतिकवान्, उद्यमशील, सिर्जनशील, कर्तव्य तथा दायित्वप्रति निष्ठावान् र अधिकारप्रति सचेत युवा शक्तिको विकास, संरक्षण र परिचालन गर्न' जोड दिएको छ। यसैगरी युवा नीतिमा भनिएको छ,’ अनुसन्धान, अन्वेषण र प्रविधिमा युवाको समावेशी सहभागिता, सहज पहुँच, उच्चतम उपयोग र साइबर सुरक्षा सुनिश्चित गरी प्रविधिमैत्री राष्ट्र निर्माण गरिनेछ ।’

युवालाई आत्मनिर्भर र स्वरोजगार वनाउन नयां युवा नीतिमा स्टार्टअप, व्यवसाय सम्बर्धन केन्द्र , एकल बिन्दु सेवा केन्द्र, करिअर काउन्सेलिङ जस्ता कार्यक्रममा जोड दिइएको छ । 

यस्तै युवामा रहेको ज्ञान, सीप र पुँजीलाई उपयोग गर्ने प्रोत्साहनमूलक कार्यक्रम, प्राविधिक ज्ञान एवम् सीपमूलक तालिम, विभिन्न व्यवसाय तथा व्यापारका क्षेत्रमा उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। 

यसैगरी युवा नीतिमा विभिन क्षेत्रमा रोजगारी र स्वरोजगारीका कार्यक्रम, परम्परागत सिपको आधुनिकिकरण, परिमार्जन , हस्तान्तरण, हरित कृषि रोजगार कार्यक्रम र सीपमूलक एवम् व्यावसायिक तालिम, अवसर तथा पुरस्कार सहितका उद्यमशीलता प्रतियोगिता सञ्चालन गर्ने उल्लेख छ ।

कान्तिपुर

Link copied successfully