नेपाल भएर आतंकवादी छिरेको भन्दै बिहारमा 'हाई अलर्ट', के भन्छ नेपाल प्रहरी ?

नेपाल प्रहरी भन्छ : 'नेपालको बाटो हुँदै छिरेको भन्ने खबरमा कुनै सत्यता छैन । त्यताका सञ्चार माध्यमहरूले लेखेका मात्र हुन् ।'

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

'High alert' in Bihar saying that terrorists have entered through Nepal, what does the Nepal Police say?

What you should know

काठमाडौँ — नेपालको बाटो हुँदै तीन जना आतंकवादी छिरेको भन्दै बिहार प्रहरीले 'हाई अलर्ट' जारी गरेको छ । पाकिस्तानबाट तीन जना आतंकवादी काठमाडौं हुँदै बिहार छिरेको बिहार प्रहरी मुख्यालयले जनाएको छ । 

एनडीटीभीका अनुसार नेपाल हुँदै बिहार छिर्नेमा हसनैन अली-रावलपिन्डी, आदिल हुसैन-उमरकोट र मोहम्मद उस्मान-बहावलपुर रहेका छन् । बिहार प्रहरीले यी तीनै जना अगस्टको दोस्रो हप्ता काठमाडौं आएको र गत हप्ता बिहार छिरेको दाबी गरेको छ ।

इन्डियन एक्सप्रेसका अनुसार तीनै जना जैश-ए-मोहम्मदसँग आबद्ध रहेका छन् । उनीहरू बिहारमा आउँदै गरेको विधानसभा चुनाव बिथोल्न आएको समेत भारतीय सञ्चारमाध्यमहरूले विश्लेषण गरेका छन् । पूर्णियाका डीआईजी प्रमोदकुमार मण्डलले पूर्णिया, कटिहार, अररिया र किशनगन्जका एसपीलाई 'हाई अलर्ट' मा रहन निर्देशन दिएको इन्डियन एक्सप्रेसमा खबर छ । यी सबै जिल्ला नेपालका सीमावर्ती जिल्ला हुन् ।

के भन्छ नेपाल प्रहरी ?

भारतीय प्रहरीले काठमाडौं हुँदै बिहार छिरेको दाबी गरे पनि नेपाल प्रहरीले भने उक्त खबरमा कुनै सत्यता नभएको बताएको छ । कान्तिपुरसँगको कुराकानीमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे भन्छन्, 'नेपालको बाटो हुँदै छिरेको भन्ने खबरमा कुनै सत्यता छैन । त्यताका सञ्चार माध्यमहरूले लेखेका मात्र हुन् ।'

'High alert' in Bihar saying that terrorists have entered through Nepal, what does the Nepal Police say?

यद्यपि नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा विधानसभा चुनाव आएकाले दुवै देशका सुरक्षा संयन्त्रको नियमित बैठक र सूचना आदान-प्रदान भने जारी रहेको प्रवक्ता घिमिरेले बताए ।

उनले अगाडि भने, 'छिमेकी राष्ट्रको सुरक्षा संवेदनशीलतासम्बन्धी विषयमा हामी सतर्क छौं । बिहारमा चुनाव आएकाले पनि सुरक्षा संवेदनशीलता हुने नै भयो । तर नेपाल आएको भन्ने खबरमा कुनै सत्यता छैन ।' 

बिहारमा चुनावको मिति घोषणा नभए पनि भारतको निर्वाचन आयोगले आगामी नोभेम्बरका लागि तोक्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully