प्रधानमन्त्री ओलीले थ्यानमन स्क्वायरमा हुने परेडमा २६ विदेशी नेताहरूसँग भाग लिनेछन्, जापानी अतिक्रमणविरुद्धको ८०औँ वार्षिकोत्सव मनाइँदैछ।
What you should know
बेइजिङ — सांघाई सहयोग संगठन (एससीओ) को २५ औँ शिखर सम्मेलनमा भाग लिन चीन आउन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङमा सैन्य परेडको अवलोकन गर्ने भएका छन् ।
बिहीबार बिहान बेइजिङमा आयोजित जापानी अतिक्रमणविरुद्ध चिनियाँ युद्ध तथा फासिस्टवाद विरोधी विश्वयुद्ध विजयको ८०औँ वर्षगाँठसम्बन्धी पहिलो पत्रकार सम्मेलनमा परेड अवलोकनबारे पुष्टि गरिएको हो ।
शनिबारदेखि चीन भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री ओलीले केन्द्र शासित चीनका चार नगरमध्ये थ्येनचिनमा हुने सांघाई शिखर संगठनको सम्मेलनमा भाग लिनेछन् । कार्यक्रममा सहभागी भएपछि सम्मेलनमा सहभागी सबै अतिथिहरूलाई बेइजिङ ल्याइनेछ । पत्रकार सम्मेलनमा जानकारी गराइएअनुसार ३ तारिख बेइजिङको थ्यानमन स्क्वायरमा हुने बृहत् परेड प्रदर्शनीमा ओली लगायत २६ जना विदेशी राष्ट्रप्रमुख र सरकार प्रमुखहरूले भाग लिनेछन् ।
बेइजिङस्थित नेपाली राजदूत कृष्णप्रसाद ओलीले प्रधानमन्त्री ओलीले अन्य अतिथिहरूसँगै परेड अवलोकन गर्ने र सोही दिन नेपाल फर्किने तालिका रहेको कान्तिपुरलाई बताए ।
परेड प्रदर्शनी समारोहमा विशेषगरी जापानी अतिक्रमणविरुद्ध चिनियाँ जनताको युद्धमा योगदान पुर्याएका अन्तर्राष्ट्रिय व्यक्तित्व र तिनका परिवारका प्रतिनिधिहरूलाई आमन्त्रित गरिएको छ । रुस, अमेरिका, बेलायत, फ्रान्स, क्यानडा लगायत १४ देशका ५० जना मित्र वा तिनका परिवारका प्रतिनिधिहरूले समारोहमा भाग लिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
यसैगरी सोही दिन बेलुका ग्रेट हल अफ द पिपुल्समा युद्ध विजय सम्बन्धित सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ ।
पत्रकार सम्मेलनमा सहायक परराष्ट्रमन्त्री हुङ लेइले यस पटकको परेड सम्मेलन उच्चस्तरीय, प्रतिनिधित्वपूर्ण र व्यापक सहभागितामूलक हुने बताए । उनले बताएअनुसार विदेशी राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको उपस्थितिले चीनले मात्रै गरेको यस प्रकारको स्मृति कार्यक्रममा भाग लिने भएकाले चीनप्रति उच्च सम्मान र चिनियाँ जनताप्रति मैत्रीपूर्ण भावना छचल्किनेछ । सहभागीहरूले पाँचै महादेशको प्रतिनिधित्व गर्ने भन्दै धेरै अन्तर्राष्ट्रिय शुभेच्छुक र शोकसन्तप्त परिवारजन पनि सहभागी हुने हुङ लेइले बताए ।
पत्रकार सम्मेलनमा परेड स्टेरिङ ग्रुप कार्यालयका उपनिर्देशक एवं केन्द्रीय सैन्य आयोगको संयुक्त कार्यविधि परिचालन विभागका मेजर जनरल ऊ चखले यो परेड जापानी आक्रामकताविरुद्धको चिनियाँ प्रतिरोध र विश्व फासिस्ट विरोधी युद्ध विजयको ८० औँ वार्षिकोत्सवको स्मरणार्थ एक विशेष गतिविधि भएको बताए ।
चिनियाँ सञ्चारमाध्यमहरूले जनाएअनुसार थ्यानमन स्क्वायर क्षेत्रमा तीन वटा पूर्ण पूर्वाभ्यासहरू सम्पन्न भएका छन् । सम्बन्धित अधिकारीहरूले उच्च मनोबलका साथ सेना तथा हतियार र उपकरणहरू सही अवस्थामा रहेका छन् । प्रदर्शनी हुने दिनको उल्टो दिनगन्ती चलिरहेको छ ।
