वीरगन्जमा १ सय ३४ र पोखरियामा ७ जना हैजा संक्रमित, हैजाको स्रोत अझै यकिन भएन

वीरगन्ज र पोखरियामा गरी पर्सा जिल्लामा हैजा संक्रमितको संख्या १ सय ४१ पुगेको छ। ७६ जना उपचारमा, ५८ डिस्चार्ज।

भाद्र १२, २०८२

शंकर आचार्य

134 in Birgunj and 7 in Pokharia infected with cholera, the source of cholera is not yet known

What you should know

पर्सा — झाडापखाला तथा हैजाको प्रकोप फैलिएको वीरगन्ज महानगर क्षेत्रमा हैजा संक्रमितको संख्या १ सय ३४ पुगेको छ। बिहीबार बिहान १० बजे वीरगन्ज महानगरपालिकाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, वीरगन्ज महानगर क्षेत्रमा मात्रै १ सय ३४ जना हैजा संक्रमित रहेका छन्।

तीमध्ये ७६ जना यहाँस्थित विभिन्न अस्पतालमा उपचाररत छन् भने ५८ जना डिस्चार्ज भइसकेका छन्।

उता पोखरियामा पनि ७ हैजा संक्रमित पुष्टि भइसकेका छन्। यसरी वीरगन्ज र पोखरियामा गरी पर्सा जिल्लामा कुल संक्रमितको संख्या १ सय ४१ पुगेको छ।

हालसम्म वीरगन्ज महानगरमा झाडापखाला र हैजाका ५ सय ७० बिरामी अस्पतालमा भर्ना भएका मध्ये २ सय ७० जना डिस्चार्ज भएका छन् भने संक्रमितसहित ३ सय १० जना उपचाररत रहेका छन्।

जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार हालसम्म पुष्टि भएका हैजा संक्रमितको आरडीटी परीक्षणबाट पुष्टि गरिएको हो। संक्रमित पुष्टि भएकामध्ये अधिकांश वीरगन्ज महानगरपालिका वडा नं ३, ११, १२, १३ र १६ का रहेका छन्।

नारायणी अस्पतालमा ४७ जना, तराई अस्पतालमा ४३ जना, नेसनल मेडिकल कलेजमा १७ जना र वीरगन्ज हेल्थ केयरमा ७ जना हैजा संक्रमित पुष्टि भएका छन्। भवानी र मंगलम प्याथोलोजीमा ४/४ जना संक्रमित, प्रभु, अली अर्थो र एडभान्स मेडिकेयर अस्पतालमा २/२ जना संक्रमित, नारायणी सेन्टर, नेपाल इन्डो, नीलकण्ठ, नेपाल मेडिसिटी बयोधा, सर्वोत्तम र गण्डक अस्पतालमा १/१ जना संक्रमित पुष्टि भएका छन्।

वीरगन्ज महानगर क्षेत्रमा खानेपानी संस्थानले आपूर्ति गरेको पानी वा नयाँ जडान गरिएका डीप बोरिङबाट संक्रमण फैलिएको व्यापक अनुगमन गरिए पनि हालसम्म हैजा संक्रमण फैलाउने श्रोतको आधिकारिक पुष्टि हुन सकेको छैन।

पोखरिया अस्पतालमा पनि ७ संक्रमित उपचाररत

पर्साकै पोखरिया नगरपालिकास्थित पोखरिया अस्पतालमा भर्ना भई उपचाररत १२ जना बिरामीमध्ये ७ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ। यी संक्रमित वीरगन्ज महानगरका बाहेक रहेका जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी दिए।

यसरी वीरगन्ज र पोखरियामा गरी पर्सा जिल्लामा कुल हैजा संक्रमितको संख्या १ सय ४१ पुगेको छ। स्वास्थ्य संस्थाहरूले हैजा संक्रमित र झाडापखालाका बिरामीलाई एउटै किसिमको उपचार गरिरहेको ठाकुरले बताए।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully