ल्हासा महावाणिज्य दूतावासद्वारा सीमा नाकाबारे सिचाङको ध्यानाकर्षण

चीनले रसुवा नाका पुनर्निर्माण र सीमा व्यवस्थापनमा नेपालसँगको सहयोगलाई तीव्रता दिने घोषणा गरेको छ।

भाद्र ११, २०८२

लक्ष्मी लम्साल

Sichang's attention to the border crossing by the Lhasa Consulate General

What you should know

बेइजिङ — चीनले रसुवा सीमा व्यवस्थापनको कामलाई तीव्रता दिइरहेको जानकारी दिएको छ । ल्हासास्थित चीनका लागि नेपाली महावाणिज्य दूतावासमा पुगेर सिचाङ स्वायत्त क्षेत्रका विदेश मामिला कार्यालयका महानिर्देशक पाओ तिङले यस्तो जानकारी दिएका हुन् ।

गत असार २४ गते ल्हेन्दे खोलामा आएको भीषण बाढीका कारण रसुवा नाका ध्वस्त हुनुका साथै मानवीय तथा भौतिक क्षति भएको थियो । बुधबार नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलासँगको भेटवार्तामा महानिर्देशक तिङले रसुवा सीमा व्यवस्थापनको कामलाई तीव्रता दिइएको र नेपाल-चीन व्यापार तथा वाणिज्यको मुख्य आधार रहेका रसुवागढी र तातोपानी सीमा नाकाको व्यवस्थापन गर्न र किमाथांका सीमा नाका सञ्चालन गर्न चिनियाँ सरकार तयार रहेको जानकारी गराए । साथै उनले नाका संचालनका लागि नेपाल र चीन दुबैतर्फबाट संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिए ।

महानिर्देशक तिङले पहिलो पटक महावाणिज्य दूतावासको भ्रमण गरेको महावाणिज्य दूतावासले जनाएको छ । नेपाल-चीन सम्बन्धलाई सुदृढ पार्न हालसम्म गरिएका संयुक्त प्रयासहरूमा योगदान पुर्‍याएकोमा महावाणिज्य दूतावासले धन्यवाद पनि ज्ञापन गरेको छ ।

महावाणिज्यदूत निरौलाले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठ मनाइँदै गर्दा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेको उल्लेख गरे । उनले भने, ‘दुवै देशले पारस्परिक सद्भाव, एकअर्काको सार्वभौमसत्ताको सम्मान र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने आधारमा गरिरहेको कामले सम्बन्धलाई अझ बलियो बनाएको छ ।’  

महावाणिज्यदूत निरौलाले हालसम्म चीनबाट प्रदान गरिएको सहयोगको लागि चीन सरकारलाई धन्यवाद दिए । गत असार २४ गतेको ल्हेन्दे नदीको बाढीका कारण नेपाल-चीन मैत्री पुल बगाएपछि नेपाली नागरिकहरूलाई तुरुन्तै सुरक्षित स्थान हुँदै नेपाल फर्किन र क्षतिग्रस्त नाकाको पुनर्निर्माणमा देखाइएको तदारुकताप्रति धन्यवाद ज्ञापन गरे ।  उनले मितेरी पुलको निर्माणलाई तीव्रता दिन, तत्काल अस्थायी संचरना बनाएर भएपनि गोदाममा भण्डारण गरिएका सामानहरू नेपाल पठाउने काममा सहजीकरण गर्न ध्यानाकर्षण गराए ।  

एक अर्को प्रसङ्गमा महावाणिज्यदूत निरौलाले लिपुलेक सीमा नाका सञ्चालन सम्बन्धी चीन र भारतबीच हालै भएको सम्झौतामा चासो प्रकट गरे । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूभाग भएको र नेपाल र चीन दुवैले अहिलेसम्म एकअर्काको सार्वभौमसत्ताको सम्मान गर्दै आएको कुरालाई ध्यानमा राखिदिन आग्रह गरेको महावाणिज्य दूतावासले जनाएको छ । 

लक्ष्मी

Link copied successfully