रवि लामिछानेको निवेदनमा आज उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै

न्यायाधीश सागर विष्टको एकल इजलासमा ४ नम्बरमा पालो

भाद्र ११, २०८२

घनश्याम गौतम

Ravi Lamichhane's application is being heard today in the High Court Butwal

What you should know

बुटवल — सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सोमबार दिएको निवेदनमा आज सुनुवाइ हुँदैछ । उच्च अदालत बुटवलका न्यायाधीश सागर विष्टको एकल इजलासमा ४ नम्बरमा सुनुवाइ हुन लागेको हो ।

सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले उच्च अदालतमा निवेदन गराएका थिए । त्यही निवेदनको आज पेसी तोकिएकोमा न्यायाधीश विष्टको एकल इजलासमा सुनुवाइ हुने उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले बताए । ‘सम्भवत: आजै फैसला आउन सक्छ,’ उनले भने, ‘पहिला एकल इजलास बसेर संयुक्त इजलास बस्ने भएकाले छिट्टै सुनुवाइ हुने सम्भावना छ ।’ 

यसअघि रविले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुट्कारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए। जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो। 

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ। तर रविले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए। रविले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए। 

जिल्ला अदालतले भने उनको भागमा कति बिगो कायम हुने भन्ने नै एकीन नभएकाले रिहा गर्न नमिल्ने आदेश गरेको थियो। तर यो मुद्दाको प्रकृति विचार गर्दा छिटो छरितो निरुपण हुन उचित देखिएको भन्दै यथाशिघ्र काम कारबाही गर्न जिल्लाले आदेश गरेको थियो। 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully