सभामुख घिमिरेसमक्ष न्यौपानेले समिति सभापति पदको शपथ लिएकी हुन् ।
काठमाडौँ — प्रतिनिधिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति सभापतिमा निर्विरोध निर्वाचित कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले शपथ लिएकी छन् । सभामुख देवराज घिमिरेले बुधबार पद तथा गोपनियताको शपथ लिएकी हुन् ।
सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजित कार्यक्रममा सभामुख घिमिरेसमक्ष न्यौपानेले समिति सभापति पदको शपथ लिएकी हुन् । शपथ ग्रहण कार्यक्रममा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, कानुनमन्त्री अजयकुमार चौरसिया, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी तथा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक, प्रमुख सचेतक र सांसदहरूको सहभागिता थियो ।
राज्यव्यवस्था समितिको सभापति पदका लागि भएको निर्वाचनमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियो ।
यसअघिका समिति सभापति रामहरि खतिवडा संघीय निजामती विधेयकमा 'कुलिङ अफ पिरियड' सम्बन्धी विवादमा मुछिएपछि गत साउन २८ मा पदबाट राजीनामा गरेका थिए ।
सभापतिमा निर्वाचित न्यौपाने संविधानसभाको दुई कार्यकाल २०६४ र २०७० मा सदस्य थिइन् । न्यौपाने यसअघि संघीय संसद्को संयुक्त समिति संसदीय सुनुवाइ समितिको सभापति थिइन् । सुनुवाइ समितिको सभापतिबाट राजीनामा गरेर राज्यव्यवस्था तथा सुशासन समिति सभापति निर्वाचित भएकी हुन् ।
