सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
What you should know
बुटवल — रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश भएको छ । सोमबार भएको सुनुवाइमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको एकल इजलासले कैफियत प्रतिवेदन र सक्कल मिसिल मगाउन आदेश गरेको हो ।
सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
त्यही निवेदनको आज भएको बहसपछि न्यायाधिश विष्टको एकल इजलासले जिल्ला अदालत रुपन्देहीको सक्कल मिसिल र कैफियत प्रतिवेदन मगाउने आदेश गरेको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले बताए । ‘जिल्लाको सक्कल मिसिल र कैफियत प्रतिवेदन मगाउने आदेश भएको छ,’ उनले भने ।
यसअघि रविले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए। जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो।
बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ। तर रविले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए। रविले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए।
जिल्ला अदालतले भने उनको भागमा कति बिगो कायम हुने भन्ने नै एकीन नभएकाले रिहा गर्न नमिल्ने आदेश गरेको थियो। तर यो मुद्दाको प्रकृति विचार गर्दा छिटो छरितो निरुपण हुन उचित देखिएको भन्दै यथाशिघ्र काम कारबाही गर्न जिल्लाले आदेश गरेको थियो। भैरहवा कारागारमा रहेका उनलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ। दुई सातादेखि लामिछाने नख्खु कारागारमा छन्।
