उपसभामुख राना जोडिएको संस्थाका बालबालिकाबारे अध्ययन गर्दै प्रहरी

मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले बालमन्दिरबाट लगिएका बालबालिकाको विवरण माग्दै पत्र लेखेको र सम्बन्धित संस्थाबाट त्यसको जवाफ पनि आएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।

भाद्र १०, २०८२

विवेक पोख्रेल

The police are studying the children of the organization connected to Deputy Speaker Rana

काठमाडौँ — उपसभामुख बन्नुअघि इन्दिरा रानाले सञ्चालन गर्दै आएको बन्दी सहायता नेपाललाई नेपाल बाल मन्दिरबाट लगिएका बालबालिकाको विवरण माग्दै प्रहरीले पत्राचार गरेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले बालमन्दिरबाट लगिएका बालबालिकाको विवरण माग्दै पत्र लेखेको र सम्बन्धित संस्थाबाट त्यसको जवाफ पनि आएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए । ‘हामीले अनुसन्धान गरेर पत्र लेखेको संस्थाले सोको जवाफ पनि पठाएको छ,’ कुँवरले भने,‘निज बालबालिकाको अभिभावकहरुसँगको सहमतिमा नै यो विषय भएको देखिन्छ । यसको जवाफ आएको छ । ’

सत्ता गठबन्धनले रानालाई उपसभामुखबाट हटाउने तयारी गरिरहेका बेला बाल मन्दिरबाट उनको संस्थाले लगेको बालबालिका फिर्ता नआएको विषय उठेको थियो । रानालाई २०७२ साल कात्तिक १७ गते नेपाल बाल संगठनको सिफलस्थित बालगृहबाट पाँच बालबालिका गैरकानुनी रूपमा लगेको आरोप छ । प्रहरीले यसै विषयमा चासो राखेर पत्र लेखेको थियो  । यसअघि काठमाडौंस्थित अमेरिकी दूतावासलाई भिसाको मिति माग्दै पत्र लेखेको विषयलाई लिएर रानामाथि प्रश्न उठेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट उपसभामुख बनेकी राना बन्दी सहायता नेपाल नामक संस्थाकी संस्थापक अध्यक्ष हुन् । उनले यो संस्था सन् २००० मा स्थापना गरेकी थिइन् । 

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully