राज्य व्यवस्था समिति सभापति बन्न न्यौपानेले दिइन् सुनुवाइ समितिबाट राजीनामा

रामहरि खतिवडाको राजीनामापछि कांग्रेसले न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाउने निर्णय गरेको छ।

भाद्र १०, २०८२

कान्तिपुर संवाददाता

Neupane resigned from the hearing committee to become the chairman of the state law committee

काठमाडौँ — राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदका लागि मनोनयन दर्ता गराउन कांग्रेस सांसद ईश्वरी न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी छन् । न्यौपानेले सभामुख देवराज घिमिरेलाई राजीनामा बुझाएकी हुन् ।

मंगलबार नै उनको दल नेपाली कांग्रेसले  उनलाई रिक्त राज्य व्यवस्था समितिको सभापति बनाउने निर्णय गरेको थियो ।

यसअघि कुलिङ पिरियड विवादमा रामहरि खतिवडाले राजीनामा दिएका थिए । कांग्रेसको भागमा परेको दुवै समितिमा सभापति बनाउनपर्ने भएपछि बिहान पार्टी सभापति शेरबहादुर देउवाले बैठक राखेर न्यौपानेलाई अघि सारेका थिए ।

सत्ता गठबन्धनको भागबन्डा भएका कारण प्रमुख प्रतिपक्ष माओवादीले उम्मेदवारी नदिने निर्णय गरेको छ । अन्य सांसदले उम्मेदवारी दर्ता नगराए उनी सर्वसम्मत रूपमा सभापति चयन हुने छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त समितिको रूपमा रहेको सुनुवाइ समितिमा भने अब नयाँ अध्यक्ष छान्नुपर्ने छ ।

कान्तिपुर

Link copied successfully