मलाई राज्य व्यवस्था समिति सभापति बनाउने कुरा नेताहरूले निर्णय गरेपछि थाहा पाएकी हुँ : न्यौपाने

'चुनौती नभएको ठाउँ हुँदैन । मैले भनिहालेँ, चुनौतीको बीचमै सम्भावना खोज्ने हो । सजिलो ठाउँमा गएर होइन, कठिन ठाउँमा गएर प्रदर्शन गर्नुपर्छ ।' -ईश्वरी न्यौपाने

भाद्र १०, २०८२

कान्तिपुर संवाददाता

I came to know after the leaders decided to make me the Chairman of the State Arrangement Committee: Neupane

What you should know

काठमाडौँ — कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी न्यौपानेलाई बनाउने  निर्णय गरेको छ । उनी कांग्रेसबाट राज्यव्यवस्था तथा सुशासन समिति सदस्य उनी संयुक्त समिति संसदीय सुनुवाइ समिति सभापति पनि हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले न्यौपानेलाई राज्यव्यवस्था समिति सभापति बनाउने निर्णय गरेको हो ।  कांग्रेसको निर्णयपछि समितिका काम, कारबाही र चुनौतीका विषयमा ईश्वरी न्यौपानेसँग कान्तिपुरका कुलचन्द्र न्यौपानेले गरेको संक्षिप्त कुराकानी :

राज्य व्यवस्था समितिमा गएपछि अब कसरी काम गर्ने योजना छ ?

अब भर्खर मनोनयन गर्न जाँदै छु, त कसरी काम गर्ने भनेर भन्ने ? समितिको सदस्यका रूपमा काम गर्दाको अनुभवका आधारमा नै काम गर्ने हो ।

खासगरी राज्य व्यवस्था समितिमा विभिन्न खालका चुनौतीहरू छन्, ती चुनौतीलाई कसरी सामना गर्ने योजना छ ?

जहाँ चुनौती हुन्छ, त्यहाँ सम्भावना पनि हुन्छ हैन ? चुनौतीबाट भाग्न त हुँदैन । यो भन्दा पनि माथिल्लो चुनौतीहरूको सामना गर्छु भनेर राजनीतिमा आएको व्यक्तिका लागि यो अवसर पनि हो । सम्भावना खोजेर सचेततापूर्वक काम गर्छु ।

तपाईं सुनुवाइ समितिको पनि सभापति, अहिले फेरि राज्य व्यवस्था समितिको सभापतिमै ल्याउनुको कारण के लाग्छ तपाईंलाई ?

यो त नेताहरूलाई सोध्नु पर्छ । मसँग खासै सल्लाह पनि भएको होइन । निर्णय भएपछि जानकारी पाएको हो । नेताहरूले निर्णय गरेपछि नजाने कुरा भएन । पार्टीको निर्णय मान्नै पर्छ । हुन सक्छ, म अलि सजिलो र सबैलाई समन्वय गरेर लैजान सक्छ भन्ने ठान्नु भएको होला ।

अरू समितिका तुलनामा राज्य व्यवस्था अलि महत्त्वपूर्ण विधेयकहरू ठोक्किने ठाउँ हो र नेताहरूको चासो रहने समिति पनि हो । नेताहरूको चासो एकातिर सांसदहरूको भावना अर्कोतिर हुने अवस्थामा तपाईंले काम गर्न त कठिनाइ हुने ठान्नु भएको छैन ?

हो, अरू समिति भन्दा यो धेरै महत्त्वपूर्ण छ । धेरै विधेयक र अलिकति संवेदनशील विधेयक पनि आउने समिति हो । सबै माननीयज्यूहरूको विश्वास लिएर, उहाँहरुकै सहयोगमा र पहिलाको अनुभवका आधारमा काम गर्छु । नेताहरू कसैकसैको ‘इन्ट्रेस्ट’ बेलाबखत हुन सक्छ ।

तर हामीले वास्तविकतामा काम गर्दै जाँदा नेताहरूलाई पनि बुझाउन सकिन्छ । उहाँहरूलाई बुझाउन सक्यो भने तिमीहरू नै गर भन्ने गर्नु भएको अनुभव मलाई थाहा छ । त्यसैले सबै पार्टीका नेतृत्वको पनि सहयोग पाउने आशा छ ।

अहिले धेरै विधेयक रोकिएर बसेका छन्, अर्कोतर्फ सदन सकिन लागेको छ । कति विधेयक अघि बढाउन सक्छु भन्ने लागेको छ ?

अब गएपछि बैठक राखेर के गर्न सकिन्छ, त्यो अगाडि बढाउने प्रयास गर्छु । हिजो त सदस्य भएर मात्र गरे । अब नेतृत्वको जिम्मेवारी छ, सकेसम्म विधेयक छिटोभन्दा छिटो पारित गर्न प्रयासमा लाग्छु ।

आफैंले मूल्यांकन गर्दा काम गर्न साँच्चै चुनौतीपूर्ण छ भन्ने लागेको छ कि छैन ?

चुनौती नभएको ठाउँ हुँदैन । मैले भनिहालेँ, चुनौतीको बीचमै सम्भावना खोज्ने हो । सजिलो ठाउँमा गएर होइन, कठिन ठाउँमा गएर प्रदर्शन गर्नुपर्छ । राम्रो गर्ने प्रयास गर्ने हो ।

कान्तिपुर

Link copied successfully