उखु किसान आन्दोलनलाई पूर्वप्रधानमन्त्री भट्टराईको समर्थन

उखु किसानलाई ७० रुपैयाँ अनुदान दिने भनिए पनि सरकारले ३५ रुपैयाँमा घटाएको भन्दै भट्टराईले सरकारको आलोचना गरेका छन्।

भाद्र १०, २०८२

कान्तिपुर संवाददाता

Former Prime Minister Bhattarai's support to sugarcane farmers movement

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष  बाबुराम भट्टराईले आन्दोलनरत उखु किसानको आन्दोलनलाई समर्थन जनाएका छन् । मंगलबार काठमाडौंको माइतीघर मण्डलमा पुगेर उनले उखु किसानका माग जायज रहेको भन्दै समर्थन जनाएका हुन् । 

उखु किसानलाई दिने भनिएको अनुदान सरकारले एकलौटी निर्णयबाट कटौती गरेको भन्दै भट्टराईले सरकारको आलोचना गरे ।

‘लामो समयको आन्दोलनपछि किसानहरुलाई प्रतिक्विन्टलमा ७० रुपैयाँका दरले किसानहरुलाई अनुदान दिने कुरा भएको थियो । त्यो पनि किसानहरुको ठूलो आन्दोलनको कारणले हो । त्यो घटाएर ३५ रुपैयाँ पुर्‍याउने अनि त्यो पनि समयमा नदिने अरे । अनि सरकारले एकलौटी गर्न मिल्छ ? यो त किसानहरूमाथि बदमासी र ठगी भएन ?,’ भट्टराईले भने । 

मधेश प्रदेशसहित देशभरका उखु किसानले सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान कायम गर्न तथा बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन् । आर्थिक वर्ष २०८१/८२ को उखुको भुक्तानी रकम माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । 

कान्तिपुर

Link copied successfully