वीरगन्जमा हैजाको संक्रमण दर केही सुस्त, १४ घण्टामा २ संक्रमित थप

वीरगन्जमा हैजा संक्रमितको संख्या ९५ पुग्यो, अस्पतालमा २२० उपचाररत। हैजा फैलाउने स्रोत अझै अज्ञात, पहिचान प्रयास जारी।

भाद्र १०, २०८२

शंकर आचार्य

Cholera infection rate slows down in Birgunj, 2 more infected in 14 hours

What you should know

पर्सा — झाडापखाला तथा हैजाको प्रकोप फैलिएको वीरगन्ज महानगर क्षेत्रमा हैजाको संक्रमण दर केही सुस्त हुँदै गएको संकेत देखिएको छ। सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान साढे ८ बजेसम्मको १४ घण्टाभन्दा बढी अवधिमा २ जनामा मात्र हैजा संक्रमण पुष्टि भएको हो। यसले तुलनात्मक रूपमा संक्रमण दर केही घटेको सङ्केत दिन्छ।

जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार हालसम्म वीरगन्जका १३ अस्पताल तथा स्वास्थ्य संस्थामा ९५ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ।

तीमध्ये ३ जनामा आरडिटी परीक्षणबाट पुष्टि भएको हो। नियन्त्रणका लागि ठूलो प्रयास भइरहेको भए पनि वीरगन्ज महानगरमा हैजा संक्रमितको संख्या दैनिक बढ्दो क्रममा रहेको उनले जानकारी दिए। सोमबार साँझ ६ बजेसम्ममा संक्रमितको संख्या ९३ पुगेको थियो। सङ्क्रमित पुष्टि भएकामध्ये वीरगन्ज महानगरपालिका–३, ११, १२, १३ र १६ का बासिन्दा रहेका छन्।

नारायणी र तराई अस्पतालमा ३२–३२ जना, नेशनल मेडिकल कलेजमा १३ जना, भवानी, वीरगन्ज हेल्थ केयर र मंगलम प्याथोलोजीमा ३–३ जना, अली अर्थो र एडभान्स मेडिकेयर अस्पतालमा २–२ जना, नारायणी सेन्टर, नेपाल इन्डो, नीलकण्ठ, नेपाल मेडिसिटी, बयोधा र सर्वोत्तम अस्पतालमा १–१ जनामा संक्रमण पुष्टि भएको छ।

मंगलबारसम्म वीरगन्जका विभिन्न अस्पतालमा २ सय २० जना झाडापखाला तथा हैजाका बिरामी उपचाररत छन् भने १ सय ७१ जना डिस्चार्ज भई घर फर्किएका छन्।

हालसम्म हैजा फैल्याउने स्रोतको पहिचान हुन सकेको छैन। सरोकारवाला अधिकारीहरूले मंगलबारसम्ममा स्रोतको पहिचान हुने दाबी गरेका छन्। कल्चर परीक्षणपछि हैजा फैलाउने ब्याक्टेरियाको स्पष्ट पहिचान हुने जनाइएको छ। हालसम्म वीरगन्जमा आरडिटी परीक्षणमार्फत मात्र हैजा सङ्क्रमित पुष्टि भएको हो।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully