शेफोक्सुण्डोमा १ सय २० हिउँ चितुवा

निकुञ्जले झन्डै ५ महिना लगाएर क्यामेरा ट्र्यापिङ विधिबाट गरेको गणनामा निकुञ्जभित्र भित्र ९० र आसपासका राष्ट्रिय वनमा ३० वटा हिउँ चितुवा यकिन गरेको हो । 

भाद्र १०, २०८२

कृष्णप्रसाद गौतम

120 snow leopards in Chefoxundo

What you should know

सुर्खेत — शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा १ सय २० वटा हिउँ चितुवा भेटिएका छन् । निकुञ्जले झन्डै ५ महिना लगाएर क्यामेरा ट्र्यापिङ विधिबाट गरेको गणनामा निकुञ्जभित्र ९० र आसपासका राष्ट्रिय वनमा ३० वटा हिउँ चितुवा यकिन गरेको हो । 

निकुञ्जको संरक्षण क्षेत्रमा प्रति एक सय वर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको घनत्व २.२ रहेको छ । हिउँ चितुवा गणनाका लागि वन क्षेत्रमा ६६ वटा स्थानमा क्यामेरा जडान गरिएको थियो । विश्वमा दुर्लभ वन्यजन्तु हिउँ चितुवा एसियाका १२ वटा राष्ट्रमा मात्र पाइने गरिएको शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए । आवश्यक आहारा प्रजाति झारल, घोरल र नाउरको संख्या वृद्धि हुँदा हिउँ चितुवाको संख्या पनि बढेको पाइएको उनको भनाइ छ । ‘हिउँ चितुवाको संख्या बढ्दा पर्यापर्यटनमा टेवा पुगेको छ,’ उनले भने, ‘निकुञ्जमा हिउँ चितुवाको घनत्व नेपालकै उच्च रहेको देखियो ।’

तर चोरीसिकार, आहारा, डढेलोले बास स्थानमा परेको जोखिम, जलवायु परिवर्तनको असरलगायत कारण हिउँ चितुवा संरक्षणमा चुनौती देखिएको डिभिजन वन कार्यालय डोल्पाका प्रमुख मुनबहादुर रावतले बताए । उनका अनुसार हिउँ चितुवा निगालोको हुने वनमा बस्न मन पराउँछ । तर स्थानीयले घरायसी प्रयोजनका लागि निगालो प्रयोग गर्न थालेपछि मासिँदै जाँदा हिउँ चितुवाको वासस्थान जोगाउन समस्या भएको उनले बताए । ‘निगालो मासिँदै गइरहेको छ,’ उनले भने, ‘लोपोन्मुख भएकाले चोरीसिकारी पनि अत्यधिक बढिरहेको छ, जसका कारण पनि हिउँ चितुवा जोगाउन चुनौती छ ।’

हिउँमा बस्ने चितुवा भएकाले जलवायु परिवर्तनको असरका कारण हिउँ कम पर्दा जोगाउन मुस्किल भएको पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले बताए । ‘अहिले हिउँदमै यहाँका हिमाल र पाटनहरू नांगा हुन थालेका छन्, जसका कारण यिनीहरूको वासस्थान संकटमा पर्‍यो,’ उनले भने, ‘अब निकुञ्जमा पर्यटकको आकर्षण बढाउन विभिन्न प्याकेज घोषणा गर्न आवश्यक छ ।’

निकुञ्जमा झारल, घोरल र नाउरको संख्या झन्डै ४ हजार रहेको तथ्यांक छ । २०४० सालमा स्थापना भएको निकुञ्जले ३ हजार ५ सय ५५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । निकुञ्जअन्तर्गत मुगुको मुगुम्कार्मारोङ गाउँपालिकासहित डोल्पाका ३ वटा पालिका पर्छन् । निकुञ्जमा यो वर्ष झन्डै १० हजार पर्यटक घुम्न आएको निकुञ्जले जनाएको छ । 

कृष्णप्रसाद गौतम गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully