अट्वारीका दिन दिनभरि व्रत बसेर बेलुकीपख भ्यावाँ (भीम) को नाममा पूजापाठ गरेर अट्वारी मनाउने गरिन्छ ।
What you should know
दाङ/धनगढी — पश्चिमका थारू समुदायले आज अट्वारी पर्व मनाउँदै छन् । थारू समुदायका महिलाहरुले मनाउने अष्टिम्की पर्वपछिको दोस्रो आइतबार अट्वारी मनाउने चलन छ । सबै क्षेत्रमा अट्वारी मनाउने सवालमा एकरुपता भने छैन ।
दाङ देउखुरी उपत्यकामा भने भदौ १५ मा अट्वारी मनाउन थालिएको छ । जसअनुसार लमही नगरपालिकाले भदौ १५ र १६ गते अट्वारीको सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश सरकारले भने दाङलगायत तराईका ६ जिल्लामा आज सार्वजनिक बिदा दिएको छ ।
यसअघि दाङ, बाँके र बर्दिया जिल्लामा सम्बन्धित समुदायलाई लुम्बिनी प्रदेश सरकारले बिदा दिँदै आएको थियो तर यस वर्ष थारु बाहुल्य जिल्ला रहेको दाङसहित, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा पनि सार्वजनिक बिदा दिइएको छ ।
अट्वारी पर्वको अवसरमा दाङका तीन पालिकामा दुईदिन सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले आज बिदा दिएपछि दाङका स्थानीय तहले भदौ ९ गते थप सार्वजनिक बिदा दिएका छन् । घोराही उपमहानगरपालिका, दंगीशरण गाउँपालिका र राजपुर गाउँपालिकाले भोलि बिदा दिएका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारले भने अट्वारी पर्वका अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।
अट्वारी पर्व थारू समुदायका पुरुषहरुले मनाउने गर्छन् । बिहानैदेखि थारू बस्तीहरुमा चहलपहल बढेको छ । अट्वारीमा अनदी चामलको भात, रोटी, सुकेको माछा, खरिया, सिन्द्रा, फुलौरीलगायत तयार गरेर व्रत बसी पूजाआरधना गर्ने परम्परा छ । अट्वारीका दिन दिनभरि व्रत बसेर बेलुकीपख भ्यावाँ (भीम) को नाममा पूजापाठ गरेर अट्वारी मनाउने गरिन्छ ।
अट्वारीको अघिल्लो दिन अर्थात् शनिबार राति माछा, गंगटा, घोँगीलगायत मिठा–मिठा परिकार पकाएर दर खाने चलन छ । दरलाई थारु भाषामा भिन्सर्या भन्ने गरिन्छ ।
आज बेलुकीपख नुहाइधुवाई गरेर गन्यारी काठबाट आगो निकालेर गहुँ, चामल, अनदी चामल लगायतका पिठोबाट पाँचदेखि सातथरीको रोटी पकाएर पाँच पाण्डवमध्येका भीमको पूजा गर्ने चलन छ । पूजा सकेपछि आफ्नो भागमा रहेको केही रोटी फलफूल, दही दिदीबहिनीको नाममा निकालेर खाने गरिन्छ ।
अट्वारीको दोस्रो दिनलाई फह्रारको दिन मानिन्छ । उक्त दिन बिहानै नुहाइधुवाइ गरेर भात तरकारी पकाइन्छ ।गुइँठाको आगो बाली घ्यु र सल्लाका साना टुक्रा हालेर पूजा गर्ने परम्परा पनि छ ।
फह्रारको दिन पनि पाँचदेखि सातथरीको तरकारी हुन्छ । त्यसमा मास र पवै साग अनिवार्य हुनुपर्छ । यसबाट पनि दिदीबहिनीको नाममा खानेकुरा छुट्याउने गरिन्छ । यस्तो खानेकुरालाई थारु भाषामा अग्रासन (कोसेली) भन्ने गरिन्छ । त्यही अग्रासन अट्वारीको दोस्रो दिन विवाहित चेलीबेटीलाई दिन जाने चलन छ ।
थारू समुदायका राजा दंगीशरणको राज्य अप्ठ्यारोमा परेका बेला सुर्खेतको काँक्रेविहार घुम्न आएका पाँच पाण्डवमध्येका माइला भाइ भीमले राजा दंगीशरणलाई सहयोग गरेकाले भीमको नाममा व्रत बसेर अट्वारी पर्व मनाउने चलन चलेको किंवदन्ती छ । भीमको पूजापाठ गरेपछि भीमजस्तै बलियो भइन्छ भन्ने थारु समुदायमा जनविश्वास छ ।
