भियतनामबाट भैरहवा र पोखराका विमानस्थलमा सिधा उडानका लागि आग्रह

उनले आइतबार उपराष्ट्रपति यादवसँग प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

Request for direct flights from Vietnam to Bhairahawa and Pokhara airports

What you should know

काठमाडौँ — भियतनामकी उपराष्ट्रपति भो थी आन सुआन नेपालको तीनदिने भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उनी नेपाल आएकी हुन् । 

परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति सुआनको नेपाल भ्रमण भियतनामका तर्फबाट पहिलो उच्चस्तरीय भ्रमण हो । उनले आइतबार उपराष्ट्रपति यादवसँग प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

सुआनले नेपालका अन्य उच्चपदस्थसँग पनि शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्रले जनाएको छ । यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको छ । यही अवसरमा उपराष्ट्रपति सुआन नेपाल भ्रमणमा आएकी हुन् ।

शनिबार उपराष्ट्रपति सुआन र परराष्ट्रमन्त्री आरजु राणा देउवाबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–भियतनाम सम्बन्धका विविध आयामका साथै द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको परराष्ट्रले जनाएको छ । मन्त्री राणाले तीव्र आर्थिक विकासका लागि भियतनामलाई बधाई दिँदै यसबाट अन्य देशले पनि सिक्न सक्ने धारणा राखिन् ।

उनले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताबीच सम्बन्ध विस्तारको कडी रहेकोमा जोड दिइन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा धेरै भियतनामी नागरिक आउने गरेको प्रसंग उल्लेख गर्दै मन्त्री राणाले सांस्कृतिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सक्ने पनि बताइन् । भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा सिधा उडानको वातावरण निर्माणका लागि पनि उनले आग्रह गरेकी थिइन् । 

मन्त्री राणाले नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले त्यसपछिको अवस्थामा आवश्यक सहयोगका लागि पनि आग्रह गरिन् । नेपालले सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि पनि उनले आग्रह थिइन् । उपराष्ट्रपति सुआनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्रले जनाएको छ । उपराष्ट्रपति सुआन सोमबार भियतनाम फर्किनेछिन् ।

कान्तिपुर

Link copied successfully